हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Hong Kong Series: Nepal won by eight wickets over Qatar

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका र तीन छक्का हिर्काए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ३७ रन बनाउँदा ओपनर आशिफ शेखले ३३ रन बनाए । बसिर अहमदले पनि नटआउट ३० रनको योगदान दिए । 

कतारका लागि दुवै विकेट मुजिब उर रहमानले लिएका थिए । त्यसअघि टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । 

कतारका लागि कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । ५४ बल नै खेलेका उनले २ छक्का र पाँच चौका प्रहार गरे ।

यस्तै शाहजीब जमिलले ३१ रन बनाउँदा मुजिब उर रहमानले नटआउट २०, महोम्मद इरशादले नटआउट १८ र अरुमुगनेश नागार्जनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिए । कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ रोजेका थिए ।

कान्तिपुर

Link copied successfully