काठमाडौँ — निजी मेडिकल कलेजका आवासीय चिकित्सकले सरकारीसमान निर्वाह भत्ता पाउनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । उनीहरूले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेज पन्छिइरहेका छन् । अर्कातिर यसअघिदेखि नै अध्ययनरत आवासीय चिकित्सक पनि आन्दोलनमा उत्रेका छन् । उनीहरूले चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय लागू गर्न माग गरेका छन् ।
आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले पनि सरकारीसरह मासिक साढे ४८ हजार निर्वाह भत्ता दिनुपर्ने निर्णय सरकारले माघ पहिलो साता गरेको थियो । त्यहीअनुसार चिकित्सा शिक्षा आयोगले २६ माघ निर्वाह भत्ता दिनेसम्बन्धी निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानलाई परिपत्र गरेको थियो ।
