आज देश दुनियाँमा के-के भयो ?

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान, नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर, तीनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिनेदेखि काठमाडौंमा देशभरका शिक्षकको प्रदर्शनसम्मका खबर आज चर्चामा रहे । 

०००

२५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) मालिक पहिचान भएको छ । राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई अहिले टोखा नगरपालिका–१० महादेवटार बस्ने नारायण पौडेलको रहेको खुलेको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार अहिलेसम्मको अनुसन्धानबाट उक्त रकमका मुख्य मालिक पौडेल नै भएको खुल्न आएको बताए । 

०००

नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले द्विपक्षीय भेटवार्ता गरेका थिए । 

०००

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

०००

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म शिक्षकहरूले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौँका विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको थियो । 

०००

भारतको गुजरात राज्यस्थित बनासकान्ठामा पटाका उद्योग र गोदाममा मंगलबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । पाँच जना घाइते भएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । मृतकमध्ये अधिकांश उद्योगका कामदार छन् । गुजरात राज्यको बनासकाँठा जिल्लाको डिसा नगरको दीपक ट्रेडर्समा भएको घटनामा केही मजदुरकका अंग ५० मिटर टाढासम्म पुगेको बताइएको छ । 

कान्तिपुर

Link copied successfully