गान्धीनगर — भारतको गुजरात राज्यस्थित बनासकान्ठामा पटाका उद्योग र गोदाममा मंगलबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । पाँच जना घाइते भएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।
मृतकमध्ये अधिकांश उद्योगका कामदार छन् । गुजरात राज्यको बनासकाँठा जिल्लाको डिसा नगरको दीपक ट्रेडर्समा भएको घटनामा केही मजदुरकका अंग ५० मिटर टाढासम्म पुगेको बताइएको छ ।
उद्योगको पछाडितिरको खेतमा केही मानव अंग भेटिएका छन् । फायर ब्रिगेडले आगोलाई नियन्त्रणमा लिन कम्तीमा ६ घण्टा लगाएको थियो ।
प्रहरीका अनुसार घटनामा सुरूमा ६ जनाको मृत्यु भएको खबर आएको थियो । तर आगलागी नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो । घटनाका बेला उद्योगमा कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
मृतकको पहिचान अझै हुन सकेको छैन । दुर्घटनामा सबै मृतक र घाइते मध्यप्रदेशको हरदा जिल्लाको हंडिया गाउँका हुन् । उद्योगले दिएको जानकारी अनुसार ती मजदुरहरुलाई दुई दिनअघि मात्र उद्योगमा ल्याइएको थियो ।
डीसा एसडीएम नेहा पाँचालका अनुसार घटनामा घाइते सबैलाई सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । हाल उपचाररत तीन जनाको शरीर ४० प्रतिशतभन्दा बढी जलेको छ । दुर्घटनाबारे प्रशासनले छानबिन गरिरहेको छ ।
दुर्घटनापछि भएको प्रारम्भिक अनुसन्धान अनुसार उक्त उद्योगसँग पटाका बिक्रीको मात्र अनुमति भएको तर बनाउने अनुमति नभएको पाइएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले दुर्घटनाका पीडितलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।
भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यस्ता घटनामा बर्सेनि सयौंले ज्यान गुमाउने गरेका छन् ।
