दुर्गा प्रसाईंले भने : म भागेको छैन, काठमाडौंको एउटा मन्दिरमा बसेको छु 

'तीनकुनेमा पुग्दा मेरो कानको छेवैबाट गोली गयो'

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Durga Prasain said: I have not run away, I am staying in a temple in Kathmandu

काठमाडौँ — राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका 'कमान्डर' दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको बताएका छन् । आइतबार फेसबुकमा लाइभ आउँदै प्रसाईंले आफू काठमाडौंको एउटा मन्दिरमा सुरक्षित रूपमा बसेको बताएका हुन् ।

शुक्रबारको प्रदर्शनमा गाडीले सुरक्षाकर्मीलाई पेल्न खोजेका प्रसाईंले भनेका छन्, 'दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन । म भागेको छैन । म भाग्दिनँ । म सुरक्षित मात्र बसेको हो । म नेपाल र नेपाली छाडेर भाग्दिनँ । म कुनै काठमाडौंको एउटा मन्दिरमा छु । '

त्यस्तै आफूलाई सरकारले टार्गेट बनाएको दाबी गरेका प्रसाईंले कानको छेवैबाट गोली गएपछि सुरक्षित रहनका लागि ब्यारिकेड तोडेको दाबी गरेका छन् ।  'तीनकुनेमा पुग्दा मेरो कानको छेवैबाट गोली गयो । स्टेजको ठाउँमा पुग्दा  । त्यसपछि मेरै गाडीमा टियरग्यास हानेपछि मैले मेरो ड्राइभरलाई निकालेर आफैं गाडी चलाएर प्रहरीको ब्यारिकेड तोडेर सुरक्षित स्थलतर्फ पुगेको हुँ । पुलिसलाई चित्त दुखाउने काम मैले गर्‍या छैन । सुरक्षाकर्मीहरूमाथि मेरो कुनै लक्षित दुस्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,' उनले भनेका छन् ।

तर प्रसाईंले गाडीमै एकजना युट्युबर राख्दै गाडी चलाएर जबर्जस्ती सुरक्षाकर्मीलाई पेल्न खोजिएको बताएका छन् । लाइभ गरिएको भिडियोमा प्रसाईंले सुरक्षाकर्मीहरूप्रति अपशब्द बोल्दै गाडीले कुल्चिन खोजेको देखिन्छ । आफू प्रहरीलाई  असाध्यै माया गर्ने व्यक्ति रहेकोसमेत उनको दाबी छ ।

शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरी स्टेजमै पुग्न नदिएको उनको दाबी छ । 'प्रहरीलाई म जति माया गर्ने कोही छैन । प्रहरीलाई लाग्यो होला दुर्गा प्रसाईंले पेल्यो भनेर,' उनले भनेका छन् । 

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

शुक्रबार प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

त्यसपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित दर्जनौँलाई पक्राउ गरेको छ । संयोजक सुवेदीलाई भने सरकारले भेटघाटमा प्रतिबन्ध लगाएको छ ।

कान्तिपुर

Link copied successfully