काठमाडौँ — कुलमान हटाएको विषयमा संसद्मा सरकारले जवाफ दिने, सर्वोच्च अदालतमा रिट दर्ता, राजाले कू गर्छन् भनेजस्तो हाम्रा राष्ट्रपतिले कू गर्न नसक्ने कांग्रेस सभापति देउवाको भनाइदेखि राजसंस्थाका पक्षमा माइतीघरमा नारा लगाउने अमेरिकी नागरिक पक्राउसम्मका खबर आज चर्चामा रहे ।
०००
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा सरकार संसद्मा जवाफ दिन तयार भएको छ । यद्यपि विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली भने आफैं उपस्थित भएर जवाफ भने नदिने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
०००
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाइएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
०००
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुन:स्थापित नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
०००
'राजा चाहियो' भन्दै आन्दोलनमा उत्रने अमेरिकी नागरिक पक्राउ परेका छन् । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । उनी नेपालमा भने आफूलाई 'जयानन्द कृपा' का रूपमा चिनाउँथे । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।
०००
युक्रेनसँगको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले कम्तिमा तीन हजार थप सैनिक पठाएको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सेनाका अनुसार ती सैनिकहरू यसैवर्षको सुरूमा पठाइएको हो । तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्यका लागि विश्व नेताहरूले जोड दिइरहेका बेला उत्तर कोरियाले भने युक्रेनविरुद्धको युद्धमा रुसलाई निरन्तर सहयोग गरिरहेको छ ।
०००
नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।
