तिलोत्तमा — नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।
विभागीय डर्बीमा आर्मीको जितसँगै पुलिसको १८ खेलसम्मको अपराजित यात्रामा ब्रेक लागेको छ । लिग तालिकाको शीर्ष स्थानमा रहँदै पुलिस क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ । जितका लागि पुलिसले दिएको १४९ रनको सामान्य लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
आर्मीको जितमा विवेक यादव अविजित ४१ रनको योगदान गरे । उनले ४५ बलमा ५ चौका रएक छक्का प्रहार गरे । यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३ र सन्तोष कार्कीले २२ रन बनाउँदा नरेन साउद शून्य रनमा आउट भए । कप्तान विनोद भण्डारी ३५ बल सामना गर्दै १३ रनमा नटआउट रहे । बलिङमा पुलिसका ललित राजवंशी एक्लैले चार विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीको नाममा समान १–१ विकेट रहृयो ।
त्यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको पुलिसले ४१.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाएको थियो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए । उनले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गरे । आरिफ शेखले २२, गुल्शन झाले १७ र सागर ढकालले अविजित १६ रन जोड्दा अर्जुन साउद १३ रनमा पभेलियन फर्किए । करण केसी र दिलिप नाथ भने शून्य रनमा आउट भए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
आर्मीको जितमा शाहब आलमले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै ३१ रन दिए । योसँगै आलमले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको इतिहासमा १ सय विकेट पूरा गरेका हुन् । प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट पूरा गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि पुलिसका ललित राजवंशीले अघिल्लो खेलमा सो कीर्तिमान बनाएका थिए । यस्तै, पुलिसका नरेन साउदले ३ विकेट लिए ।
साउदले ७ ओभर बलिङ गर्दै १६ रन खर्चिए । कुशल मल्ल र भीम सार्कीको नाममा १–१ विकेट रहृयो । अब शनिबार भैरहवाको सिद्धार्थ रंगशालामा हुने फाइनलमा दुई विभागीय टोली पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
