सोल — युक्रेनसँगको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले कम्तिमा तीन हजार थप सैनिक पठाएको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सेनाका अनुसार ती सैनिकहरू यसैवर्षको सुरूमा पठाइएको हो ।
तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्यका लागि विश्व नेताहरूले जोड दिइरहेका बेला उत्तर कोरियाले भने युक्रेनविरुद्धको युद्धमा रुसलाई निरन्तर सहयोग गरिरहेको छ । रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले उत्तर कोरियाली नेता किम जोङ उनको रुस भ्रमणको तयारी भइरहेको बताएसँगै सैन्य सहयोगबारेको सूचना सार्वजनिक भएको हो ।
दक्षिण कोरियाका अनुसार रुसलाई सहयोग गर्न यसअघि उत्तर कोरियाले कम्तीमा ११ हजार सैनिक पठाएको थियो । तीमध्ये करिब ४ हजार सैनिक मारिएका उत्तर कोरियाली सेनाको भनाइ छ ।
उत्तर कोरियाली सेना युक्रेनी आक्रमण रोक्न गत नोभेम्बरदेखि रुसी क्षेत्र कुर्स्कमा तैनाथ भएका थिए । तर ठूलो संख्यामा मारिएको रिपोर्ट सार्वजनिक भएपछि जनवरीबाट उनीहरू अग्रपंक्तिबाट पछि हटेको युक्रेनको भनाइ छ ।
युद्धका क्रममा युक्रेनी गुप्तचर सेवाले केही सैनिकलाई पक्राउ गरिएको र 'जेनेभा अभिसन्धि अनुसार सबै आवश्यक चिकित्सा सहयता प्रदान गरिएको जनाएको थियो । गुप्तचर सेवाका अनुसार ती युद्धबन्दीहरूले युक्रेनी, अंग्रेजी वा रूसी भाषा बोल्न सक्दैनन् ।
तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेना प्रयोग गरिएकोबारे अस्वीकार गरेका थिएनन् । प्रश्नको जवाफमा उनले त्यो रुसको ‘सार्वभौम निर्णय’ भएको बताएका थिए ।
उत्तरले रुसी सेनाका लागि २४०-एमएम रकेट लन्चर र १७०-एमएम सेल्फ-प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस-युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमता आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिण कोरियाको दाबी छ ।
युद्ध अन्त्यका लागि अमेरिकी प्रशासन रुसलाई मनाउने प्रयासमा छ । युरोपेली नेता तथा सहयोगीहरू युक्रेनका लागि सहयोग र उक्त क्षेत्रमा दीर्घकालीन स्थिरताबारे छलफल गर्न बिहीबार पेरिसमा भेला हुने तयारीमा छन् । तर उत्तर कोरियाले भने रुसप्रति बढाइरहेको देखिन्छ ।
यसै साता साउदी अरबमा भएको वार्तापछि अमेरिकाले रुस र युक्रेन दुवैले ‘ब्ल्याक सी’मा बल प्रयोग रोक्न र पहिले घोषणा गरिएअनुसार ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको जनाएको थियो । तर रुसले त्यसका लागि आफ्ना बैंक तथा वित्तिय संस्थामाथिको प्रतिबन्ध हटाइनुपर्ने नयाँ माग अघि सारेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष एक ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर गरेदेखि सुरक्षा सम्बन्धलाई गहिरो बनाउँदै आएका छन् । त्यस अवसरमा दुवै नेताहरूले एक अर्कामाथि आक्रमण भएमा तत्काल सैन्य सहयोग प्रदान गर्न उपलब्ध सबै माध्यमहरू प्रयोग गर्ने वाचा गरेका थिए ।
पुटिनका शीर्ष सुरक्षा सल्लाहकार सर्गेई सोइगुले गत साता प्योङयाङमा किमसँग भेटेवार्ता गरेका थिए । भेटका क्रममा सोइगुले किमलाई ‘पुटिनका तर्फबाट अभिवादन’ व्यक्त गरेका रुसी राज्य-सञ्चालित समाचार संस्था तासले जनाएको छ । ‘उहाँ तपाईंसँग भएका सम्झौतारको कार्यान्वयनमा अत्यधिक ध्यान दिनुहुन्छ,’ सोइगुले किमलाई भनेका थिए ।
युक्रेन युद्धमा उत्तर कोरियाले गरेको सहयोगको बदलामा रुसले सैन्य उपकरण र तालिम उपलब्ध गराइरहेको र उन्नत अन्तरिक्ष र उपग्रह प्रविधि साझेदारी गर्ने तयारीमा रहेको अमेरिकाको दाबी छ । युद्ध सुरु भएयता उत्तर कोरियाले रुसमा हतियार वा हतियारसँग सम्बन्धित सामग्रीका हजारौं ढुवानी कन्टेनरहरू रूसमा पठाएको छ ।
गत फेब्रुअरीमा प्योङयाङका लागि मस्कोका राजदूत अलेकज्यान्डर मात्सेगोराले युक्रेनमा घाइते सयौं रूसी सैनिकको उत्तर कोरियाले उपचार गरिरहेको बताएका थिए । उनका अनुसार रुसले उत्तर कोरियालाई कोइला, खाना र औषधि आपूर्ति गर्छ । युक्रेनमा मारिएका रुसी सेनाका बालबच्चा उत्तर कोरियामा बिदा मनाउन गएका र दुई देशबीच विद्यार्थी आदानप्रदान कार्यक्रम चलाइरहेका उनको भनाइ छ ।
रुस र उत्तर कोरियाबीचको गहिरो साझेदारीले किम शासनलाई प्रविधि हस्तान्तरण गर्न सहज बनाउने अमेरिकी भनाइप्रति दक्षिण कोरियाली अधिकारीहरूले पनि सहमति जनाएका छन् ।
उत्तर कोरियाली नेता किमले यसै साता एआई-संचालित नयाँ ड्रोन परीक्षणको निरीक्षण गरेका छन् । उत्तर कोरियाली राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएका अनुसार किमले ‘आधुनिक युद्धको प्रवृत्तिलाई ध्यानमा राख्दै’ त्यस्ता ड्रोनको थप विकास गर्न निर्देशन दिएका छन् ।
रुस र युक्रेनबीचको लडाइँमा ड्रोन एक प्रमुख हतियार बनेको छ । युक्रेनमा रुसी ड्रोन आक्रमणको संख्या मे २०२४ मा ३७९ बाट बढेर नोभेम्बरमा झन्डै २५ सय पुगेको छ । युद्धविरामको जारी वार्ताका क्रममा पनि दुवै देशले आक्रमण जारी राखेका छन् । बुधबार राति रुसी सेनाले उत्तरपूर्वी सहर खार्किभमा गरेको ड्रोन आक्रमणमा कम्तीमा ९ जना घाइते भएका थिए ।
यसअघि अमेरिका र उसका सहयोगीहरूले युक्रेनसँगको युद्धमा उत्तर कोरियाले रुसलाई गरेको समर्थनको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । प्योङयाङले उक्त वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ भनको संज्ञा दिँदै आलोचना गरेको छ ।
उत्तर कोरियासँग करिब १२ लाख ८० हजार सैनिक छन् । रुसी सेनाको विपरीत उत्तर कोरियाली सेनासँग लडाइँमा सामेल भएको ताजा अनुभव भने छैन । उत्तर कोरियाले पुरानो सोभियत शैलीलाई पछ्याएको छ । तर उसको 'मोटराइज्ड इन्फेन्ट्री'मा आधारित मुख्य फौज युक्रेनविरूद्धको युद्धमा भने खासै प्रभावकारी हुने देखिँदैन । रुसी प्रणालीसँग घुलमिल नभएका कारण उनीहरूले मुख्य भूमिकामा रहेर लडाइँ लड्न कठिन देखिन्छ ।
