आज देश-दुनियाँमा के-के भयो ?

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — कुलमान घिसिङलाई हटाइएपछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त, विरोधमा देशभर प्रदर्शन, २५ करोड रुपैयाँबारे कुसाङ नबोलेपछि मोबाइलको म्यासेज जाँच गर्दै राजस्व विभागदेखि टर्कीएमा प्रदर्शन जारी, विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोपसम्मका खबर आज चर्चामा रहे ।

०००

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको जानकारी पनि मन्त्री गुरुङले दिए । 

कुलमानलाई हटाएको विरोधमा सरकारविरुद्ध प्रदर्शन [तस्बिरहरू] 

०००

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक 'म र मेरो सानोबुवा' आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए । 

०००

२५ करोड रुपैयाँ अवैध विदेशी मुद्रासहित पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामाले पैसाको स्रोत नबताएपछि उनको मोबाइल फोनका आधारमा अनुसन्धान हुँदैछ । राजस्व अनुसन्धान विभाग कुसाङको मोबाइलमा रहेका म्यासेज जाँच गरेर अवैध मुद्राको रहस्य पत्ता लाग्ने अपेक्षामा छ । 

०००

बायाँहाते स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

०००

टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि सुरू प्रदर्शन छैटौं दिन पनि जारी रहेको छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएका छन् । टर्कीएको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी ९सीएचपी० ले प्रदर्शनहरू मंगलबार समाप्त हुने बताएको छ । तर पार्टीले आन्दोलनका अन्य कार्यक्रमबारे भने केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully