२५ करोड रुपैयाँबारे कुसाङ नबोलेपछि मोबाइलको म्यासेज जाँच गर्दै राजस्व विभाग

चैत्र १२, २०८१

विवेक पोख्रेल

Revenue department checking mobile messages after Kusang did not speak about Rs 25 crore

काठमाडौँ — २५ करोड रुपैयाँ अवैध विदेशी मुद्रासहित पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामाले पैसाको स्रोत नबताएपछि उनको मोबाइल फोनका आधारमा अनुसन्धान हुँदैछ । राजस्व अनुसन्धान विभाग कुसाङको मोबाइलमा रहेका म्यासेज जाँच गरेर अवैध मुद्राको रहस्य पत्ता लाग्ने अपेक्षामा छ ।

‘पैसाको विषयमा पक्राउ परेका कुसाङ लामालाई पटकपटक सोधपुछ गरिएको छ । तर उनी नबोलेपछि उनको मोबाइलको फोन/ म्यासेजअनुसार अनुसन्धान अघि बढाउँदैछौं,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भने,‘सुरुका दिनमा पैसा गन्ने र सोधपुछ भयो । उनले पैसाको स्रोतका बारेमा बोलेकै छैनन् । उनीसँग भएको मोबाइल फोनमा आएका र गरिएका फोन कलबाट केही खुल्छ कि हामी अनुसन्धान गर्दैछौं ।’

कपडा किन भन्दै चीन हिँडेको ट्रकको चालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाएको नेपाली २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँबराबरको डलर र युरोसहित चालक कुसाङ लामा अघिल्लो सोमबार पक्राउ परेका थिए । 

उक्त रकमबारे विस्तृत खुलासा नभए पनि सुन ल्याउन चिनियाँ नाकातर्फ पैसा लगिँदै गरेको विश्लेषण प्रहरीको छ।  कुसाङ यसअघि पनि अवैध सुन तस्करीको मुद्दामा पाँच वर्ष जेल बसेका थिए । २०७३ पुस १३ मा बा ८ च ७४२० नं.को टोयोटा हाएलक्स गाडीको एयर फिल्टरभित्र ७ केजी सुनसहित उनी पक्राउ परेका उनले तोकेको जरिवाना तिर्न नसेपछि उनले पाँच वर्ष जेल बस्नु परेको थियो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले ०७४ असार २६ गते ३ करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको फैसला सुनाएको थियो । त्यो समयमा पनि उनीबाट सुनको स्रोत र व्यक्तिका बारेमा केही पनि जानकारी प्राप्त भएको थिएन । उनले अदालतमा आफू भरिया मात्र भएको बताएका थिए । तर कसले पठाएको वा कसलाई दिने भन्ने पत्ता लागेको थिएन 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully