टर्कीएमा प्रदर्शन जारी, विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोप

चैत्र १२, २०८१

एजेन्सी

Demonstrations continue in Turkey, the president accuses the opposition of inciting violence

इस्तानबुल — टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि सुरू प्रदर्शन छैटौं दिन पनि जारी रहेको छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएका छन् ।

टर्कीएको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले प्रदर्शनहरू मंगलबार समाप्त हुने बताएको छ । तर पार्टीले आन्दोलनका अन्य कार्यक्रमबारे भने केही उल्लेख नगरेको बीबीसीले जनाएको छ । मेयर इमामोग्लुलाई पक्राउ गरिएपछिका प्रदर्शनका क्रममा करिब १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इमामोग्लु टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी हुन् । सीएचपीबाट सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि उम्मेदवारी दिने तयारी गरेपछि इमामोग्लुलाई गत बुधबार पक्राउ गरिएको थियो । 

इमामोग्लुमाथि आपराधिक संगठन स्थापना र व्यवस्थापन गरेको, घुस लिएको, जबरजस्ती रकम असुलेको, टेन्डर प्रक्रियमा धाँधली गरेको लगायतका आरोप लगाइएको छ । टर्कीएको एक अदालतले आइतबार इमामोग्लुलाई पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिइसकेको छ । इमामोग्लुले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । 

इस्तानबुलसँगै अंकारा र इज्मिरमा पनि हजारौंले प्रदर्शन गरेका छन् । टर्किएमा केही वर्षयताकै ठूला प्रदर्शनमा सुरक्षाकर्मीले चरम दमन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदर्शनका सहभागीहरूले ‘अधिकार, कानून र न्याय’ को नारा लगाउने गरेका छन् । 

प्रदर्शनमा सहभागीले आफूहरूले राजनीतिक कारण वा विपक्षीको समर्थक भएकाले नभइ लोकतन्त्रको रक्षाका लागि प्रदर्शनमा सहभागी भएको बताएका बीबीसीले जनाएको छ । धेरैजसोले विश्वास गर्न सकिने भविष्यको लागि लडिरहेको र त्यसका लागि गिरफ्तारी दिन तयार रहेको बताउने गरेका छन् । 

टर्कीएमा इमामोग्लुलाई इर्दोगानको सबैभन्दा शक्तिशाली राजनीतिक प्रतिद्वन्द्वीमध्ये एक मानिन्छ । उनी अनुसन्धानका लागि पक्राउ परेका अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायीसहित सय भन्दा बढी व्यक्तिमध्ये एक हुन् । 

गिरफ्तारी हुनुभन्दा एक दिन अघि इस्तानबुल विश्वविद्यालयले कथित अनियमितताका कारण इमामोग्लुको डिग्री रद्द गर्ने घोषणा गरेको थियो । उक्त कार्य उनलाई राष्ट्रपतिको उम्मेदवार हुन नदिन चालिएको अनुमान गरिएको छ । टर्कीको संविधान अनुसार राष्ट्रपतिहरूले पद धारण गर्न उच्च शिक्षा पूरा गरेको हुनुपर्छ ।

इर्दोगानले विगत २२ वर्षदेखि टर्कीको प्रधानमन्त्री र राष्ट्रपति दुवैको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । तर कार्यकालको सीमाका कारण संविधान परिवर्तन नगरेसम्म उनी २०२८ मा फेरि उम्मेदवार हुन सक्दैनन् ।

एजेन्सी

Link copied successfully