काठमाडौँ — सोमबार कान्तिपुरमा प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउनेदेखि नेपालको छुर्पी निर्यात अमेरिकादेखि अस्ट्रेलियासम्म हुने गरेका समाचार प्रकाशित भएका छन् ।
सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भएको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
त्यस्तै वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको ८ महिनामा करिब ६४ करोड रुपैयाँबराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा छुर्पी निर्यात डेढ गुणाले बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा यो नाका हुँदै ६४ करोड रुपैयाँबराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निकासी भएको छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री पाण्डेले नागरिक उडड्यनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको दाबी गरे ।
त्यस्तै आजको अन्तर्राष्ट्रिय समाचार छ- टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछिका प्रदर्शनमा सहभागी कम्तीमा १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी हुन् । टर्कीएका आन्तरिक मामिलामन्त्री अली यर्लिकायाका अनुसार उनीहरूलाई पाँच दिनको प्रदर्शनका क्रममा पक्राउ गरिएको हो ।
त्यस्तै लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकालेको छ । कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ ओभरमा २६१ बल अगावै ९ विकेटको जित हासिल गर्यो ।
