वीरगन्ज नाकाबाट ८ महिनामा ६४ करोड रुपैयाँको छुर्पी निर्यात 

चैत्र ११, २०८१

शंकर आचार्य

64 crore rupees worth of churppi exports in 8 months through Birganj route

पर्सा — वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको ८ महिनामा करिब ६४ करोड रुपैयाँबराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा छुर्पी निर्यात डेढ गुणाले बढेको छ । 

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा यो नाका हुँदै ६४ करोड रुपैयाँबराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाका हुँदै ४१ करोड रुपैयाबराबरको २ लाख २९ हजार ३ सय ४८ किलो छुर्पीं निकासी भएको थियो । 

तुलनात्मक रूपमा हेर्दा गत आर्थिकभन्दा चालु आवमा २३ करोड रुपैयाँ बढीको र परिमाणमा पनि १ लाख ४० हजार ३ सय २० किलो बढी छुर्पी निकासी भएको छ । भन्सार बिन्दुबाट छुर्पीको नामले नभई यो वस्तु ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा निकासी हुन्छ । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी यस वर्ष तुलनात्मक रूपमा यो नाकाबाट छुर्पीको निकासी बढेको बताउँछन् । अमेरिका,अस्ट्रेलिया जस्ता देशमा घरपालुवा कुकुर बिरालोले रुचाएपछि नेपाली छुर्पीको माग क्रमशः उकालो लागिरहेको उनले बताए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully