इस्तानबुल — टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछिका प्रदर्शनमा सहभागी कम्तीमा १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी हुन् ।
टर्कीएका आन्तरिक मामिलामन्त्री अली यर्लिकायाका अनुसार उनीहरूलाई पाँच दिनको प्रदर्शनका क्रममा पक्राउ गरिएको हो । विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) बाट सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि उम्मेदवारी दिने तयारी गरेपछि इमामोग्लुलाई गत बुधबार पक्राउ गरिएको थियो ।
टर्कीएको एक अदालतले आइतबार इमामोग्लुलाई पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिइसकेको छ । इमामोग्लुमाथि आपराधिक संगठन स्थापना र व्यवस्थापन गरेको, घुस लिएको, जबरजस्ती रकम असुलेको, टेन्डर प्रक्रियमा धाँधली गरेको लगायतका आरोप लगाइएको छ । तर इमामोग्लुले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।
इमामोग्लुको पक्राउपछि समर्थकहरूले पाँच दिनदेखि विरोध प्रदर्शन जारी राखेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अंकारा र इज्मिरमा पनि व्यापक प्रदर्शन भएका छन् । यी टर्किएमा केही वर्षयता देखिएका सबैभन्दा ठूला प्रदर्शन हुन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चरम दमन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदर्शनका सहभागीहरूले ‘अधिकार, कानून र न्याय’ को नारा लगाउने गरेका छन् ।
प्रदर्शनमा सहभागीले आफूहरूले राजनीतिक कारण वा विपक्षीको समर्थक भएकाले नभइ लोकतन्त्रको रक्षाका लागि प्रदर्शनमा सहभागी भएको बताएका बीबीसीले जनाएको छ । धेरैजसोले विश्वास गर्न सकिने भविष्यको लागि लडिरहेको र त्यसका लागि गिरफ्तारी दिन तयार रहेको बताउने गरेका छन् ।
टर्कीएमा इमामोग्लुलाई इर्दोगानको सबैभन्दा शक्तिशाली राजनीतिक प्रतिद्वन्द्वीमध्ये एक मानिन्छ । उनी अनुसन्धानका लागि पक्राउ परेका अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायीसहित सय भन्दा बढी व्यक्तिमध्ये एक हुन् ।
गिरफ्तारी हुनुभन्दा एक दिन अघि इस्तानबुल विश्वविद्यालयले कथित अनियमितताका कारण इमामोग्लुको डिग्री रद्द गर्ने घोषणा गरेको थियो । उक्त कार्य उनलाई राष्ट्रपतिको उम्मेदवार हुन नदिन चालिएको अनुमान गरिएको छ । टर्कीको संविधान अनुसार राष्ट्रपतिहरूले पद धारण गर्न उच्च शिक्षा पूरा गरेको हुनुपर्छ ।
इर्दोगानले विगत २२ वर्षदेखि टर्कीको प्रधानमन्त्री र राष्ट्रपति दुवैको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । तर कार्यकालको सीमाका कारण संविधान परिवर्तन नगरेसम्म उनी २०२८ मा फेरि उम्मेदवार हुन सक्दैनन् ।
