आज देश दुनियाँमा के-के भयो ?  

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — सरकार परिवर्तन हुने भारतको आशय नदेखिएको परराष्ट्रमन्त्री राणाको भनाइ, डिजिटल वित्तीय उपकरण प्रयोग गर्नेमा महिला कमदेखि १५ वर्षमा पहिलोपल्ट लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्दसम्मका समाचार आज चर्चामा रहे ।

०००

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् । 

०००

नेपालमा मोबाइल फोन वा इन्टरनेट प्रयोग गरेर बैंक कारोबार गर्ने महिलाको संख्या निकै कम रहेको विज्ञहरुले औँल्याएका छन् । पछिल्ला वर्षमा महिला साक्षरता उल्लेख्य रुपमा बढेपनि डिजिटल वित्तीय उपकरण प्रयोगमा उनीहरुको सहभागिता अपेक्षित रुपमा नबढेको उनीहरूको भनाइ छ। बिहीबार ललितपुरमा आयोजित लैंगिक समानताका लागि ‘रिङ द बेल’ कार्यक्रममा वक्ताहरूले डिजिटल पहुँचमा देखिएको लैंगिक असमानताले देशको दिगो आर्थिक विकासमा गम्भीर असर पुर्‍याउने धारणा राखे ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

०००

हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार पूर्ण रूपमा बन्द हुने भएको छ । नजिकै रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागीका कारण विमानस्थल बन्द हुने भएको हो । युरोपकै व्यस्तमध्यको एक विमानस्थलमा विद्युत् आपूर्ति हुने सबस्टेसनमै आगलागी भएको हो । बीबीसीका अनुसार कम्तीमा पनि शुक्रबार १ हजार ३ सय ५१ उडान रद्द हुनेछन् ।

०००

इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स कर्पोरेसन (पहिले ट्विटर) ले भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अभिव्यक्ति स्वतन्त्रताविरूद्धका काम गर्न लगाएको भन्दै एक्सले भारतको बैंगलुरुस्थित कर्णाटक उच्च अदालतमा मार्च ५ मा मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ । 

कान्तिपुर

Link copied successfully