काठमाडौँ — नेपालमा मोबाइल फोन वा इन्टरनेट प्रयोग गरेर बैंक कारोबार गर्ने महिलाको संख्या निकै कम रहेको विज्ञहरुले औँल्याएका छन् । पछिल्ला वर्षमा महिला साक्षरता उल्लेख्य रुपमा बढेपनि डिजिटल वित्तीय उपकरण प्रयोगमा उनीहरुको सहभागिता अपेक्षित रुपमा नबढेको उनीहरूको भनाइ छ।
बिहीबार ललितपुरमा आयोजित लैंगिक समानताका लागि ‘रिङ द बेल’ कार्यक्रममा वक्ताहरूले डिजिटल पहुँचमा देखिएको लैंगिक असमानताले देशको दिगो आर्थिक विकासमा गम्भीर असर पुर्याउने धारणा राखे । वित्तीय क्षेत्रमा विद्यमान लैंगिक आधारमा डिजिटल डिभाइड (जेन्डर्ड डिजिटल डिभाइड)को समस्या सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले महिलाको साक्षरता दरमा नेपालले प्रगति हासिल गरे पनि वित्तीय समावेशीकरणमा अझै पहल आवश्यक रहेको धारणा राखिन् । ‘नेपालमा अहिले सबैभन्दा शिक्षित महिला पुस्ता छन्, सन् २००१ मा ४२ प्रतिशत महिला साक्षरता रहेकोमा अहिले ६९ प्रतिशत पुगेको छ,’ उनले भनिन्, ‘महिलाहरूको नेतृत्वमा सञ्चालित व्यवसायहरू पनि अहिले एक तिहाइ पुगेका छन् र यो संख्या बढ्दो छ ।’
प्याट्रिसियाले साक्षरता दर बढे पनि नेपालमा मोबाइल फोन वा इन्टरनेट प्रयोग गरेर बैंक खातामा पहुँच बनाउने महिलाहरूको संख्या ३ प्रतिशत मात्रै रहनु चिन्ताजनक विषय भएको आौल्याइन् । ‘जम्मा ४१ प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्छन् भने इन्टरनेट प्रयोग गर्ने पुरुषको संख्या ६१ प्रतिशत छ,’ उनले सन् २०२२ को विश्व बैंकको तथ्यांकका आधारमा भनिन्, ‘यसले डिजिटल जेन्डर ग्याप बढिरहेको देखाउाछ । नेपालमा जम्मा १५ प्रतिशत महिलाले डिजिटल भुक्तानी प्रयोग गर्ने गरेका छन् ।’
प्याट्रिसियाका अनुसार डिजिटल डिभाइडलाई सम्बोधन गरिएन भने नेपालको आर्थिक वृद्धि र दिगो विकासमा अवरोध पुग्नेछ । अति कम विकसित देशबाट सन् २०२६ मा विकासोन्मुख देशमा स्तरोन्नति हुँदै गर्दा नेपालले महिला उद्यमशिलताको सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो । महिलाहरूका लागि बिनाधितो कर्जा सुविधा उपलब्ध गराउनेदेखि वित्तीय र डिजिटल साक्षरतामा सुधार महत्वपूर्ण रहेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का राष्ट्रिय अधिकृत निर्मल दाहालले पनि बौकिङ पहुँच, डिजिटल भुक्तानी, कर्जा प्राप्तीमा लौगिक असमानता रहेको बताए । ‘नेपालमा डिजिटल वित्तीय सेवा/सुविधामा उल्लेख्य वृद्धि भइरहेको छ तर मोबाइल वालेट वा बैंकिङ एपको प्रयोग महिलाभन्दा पुरुषले धेरै गर्ने देखिन्छ,’ उनले भने, ‘कमर्सियल बैंकहरूमा महिला जनशक्तीको सहभागीताको सन्दर्भमा नेपाल दक्षिण एसियामै अगाडी छ तर उच्च नेतृत्व पदमा यो संख्या कम छ । मिड–लेभल म्यानेजमेन्टमा नै जम्मा २७ प्रतिशत महिला छन् ।’
कार्यक्रममा नेपालका लागि फिनल्यान्डकी राजदूत रीना–रीक्का हेइक्काले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि डिजिटल प्रविधि महत्त्वपूर्ण भए पनि ग्रामीण क्षेत्रका धेरै महिला डिजिटल साक्षरताको अभावका कारण पछि परेको बताइन् । ‘कयौँ महिलाहरूमा डिजिटल साक्षरता र अनलाइन वित्तीय सुविधाबारे सचेतनाको कमी छ,’ उनले भनिन्, ‘यस्तो डिजिटल डिभाइड हटाउन सकियो भने लैंगिक समानता प्रवर्द्धन मात्र होइन, यसले स्पष्ट आर्थिक लाभ पनि ल्याउनेछ ।’
सोही समारोहमा अर्थ मन्त्रालयका उपसचिव एवं नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलले महिलाहरूका लागि अझै पनि अनुकूल व्यावसायिक वातावरण सिर्जना गर्न नसकेको स्वीकार गरे । उनका अनुसार बैंकिङ, कर्जा र आर्थिक अवसरहरूमा महिलाहरू पछि परेका छन् । ‘डिजिटल फाइनान्समा महिलाहरूलाई प्रोत्साहन नगरेसम्म समग्र वित्तीय र आर्थिक क्षेत्रमा महिलाहरूको योगदान सीमित नै रहन्छ,’ उनले भने ।
उपसचिव पौडेलका अनुसार नेपालमा पूँजी बजारमा महिलाहरूको सहभागिता न्यून हुनुका पछाडि सीमित वित्तीय उपकरणहरू पनि कारक हुन् । ‘हामीकहाँ एक्सचेन्ज–ट्रेन्ड फन्ड छैन, डेरिभेटिभ मार्केट भर्खर सुरु भएको छ र म्युचुअल फन्डहरू सीमित मात्रामा छन्,’ उनले भने, ‘युरोपेली देशहरूमा रोबो एड्भाइजरजस्ता प्रविधि छन्, जसले महिलाहरूलाई व्यवसाय गर्न, वित्तीय बजारमा जान, जोखिम मोल्न र रणनीति बनाउनदेखि साना तथा मझौला उद्यमको मूल्यांकनमा सहयोग पुर्याउँछ । यस्तो खालको प्रविधि नेपालमा पनि उपयोगी हुने देखिन्छ ।’
फिनल्यान्ड सरकार र युरोपेली संघको सहयोगमा यूएन विमेन, ग्लोबल कम्प्याक्ट नेपाल, अन्तर्राष्ट्रिय वित्त निगम र नेपाल स्टक एक्सचेन्जले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ‘महिला सशक्तीकरण सिद्धान्त’ (वेप्स) बारे जानकारी दिइएको थियो । यूएन विमेन र यूएन ग्लोबल कम्प्याक्टले महिलाको आर्थिक सहभागिता बढाउने उदेश्यसहित वेप्स विकास गरेका हुन् । यसले व्यापार, व्यवसाय र आर्थिक निकायहरूलाई कार्यस्थल, बजार र समुदायमा कसरी लौगिक समता र महिलाको सशक्तीकरणलाई बढावा दिने भनेर मार्गदर्शन प्रदान गर्ने कार्यक्रममा जानकारी दिइयो ।
