काठमाडौँ — अब लोडसेडिङ हुने ऊर्जामन्त्री खड्काको भनाइ, माओवादीको ‘लङ मार्च’ पुन: बिहीबारदेखि, हवाई टिकटलगायत पर्यटन क्षेत्रमा लगाइएको भ्याट गलपासो बनेको व्यवसायीको गुनासोदेखि कराते महासंघले विभेद गरेको भन्दै साग स्वर्ण विजेता विप्लवले संन्यास लिए सम्मका समाचार आज चर्चामा रहे ।
सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् ।
माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई मधेश जागरण’ हुलाकी राजमार्गकेन्द्रित अभियान रौतहट पुग्नबित्तिकै फागुन २४ अचानक स्थगित गर्यो । त्यही समयको सेरोफेरोमा राजावादी काठमाडौं, वीरगन्जलगायत सहरमा प्रदर्शन गरिरहेका थिए । झापादेखि कञ्चनपुरसम्म १ हजार ८ सय ४० किलोमिटरभन्दा लामो ‘ननस्टप’ यात्रा गर्ने बताएको माओवादीले उपलब्ध पदाधिकारी बैठकले रौतहटमा स्थगित गर्ने निर्णय गरेको थियो । स्थगित भएको अभियान बिहीबार बिहानदेखि बाराबाट सुरु हुँदैछ ।
हवाई टिकट लगायतमा गत आर्थिक वर्षदेखि लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) नेपालको पर्यटन उद्योगका लागि गल्पासोसरह भएको व्यवसायीहरूले गुनासो गरेका छन् । नेपाल उद्योग परिसंघले मंगलबार ललितपुरमा आयोजना गरेको पर्यटन उद्योग केन्द्रित पूर्व बजेट अर्न्तक्रिया तथा छलफलमा व्यवसायीहरूले नेपालको हवाई टिकटमा लगाइएको भ्याटका कारण नेपाली बजारबाट अर्बौ रुपैयाँ विदेशी बजारमा गएको, हुन्डीले प्रसय पाएको र पर्यटकको संख्या घटेको बताए ।
१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले बुधबार संन्यास घोषणा गरेका छन् । गत वर्ष हाङचाउ एसियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै संन्यास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासंघ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।
भारतको एक अदालतले सन् १९८१ मा दलित समुदायका २४ जनाको हत्याको अभियोगमा तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरू उत्तर प्रदेशको देहुली गाउँमा महिला र बालबालिकासहित पीडितहरूलाई गोली हानेका लुटेरा गिरोहका सदस्य थिए । उत्तर प्रदेशको मैनपुरीस्थित विशेष अदालतले मंगलबार भारतमा त्यस्तो हत्या ‘दुर्लभभन्दा दुर्लभ’ श्रेणीमा पर्ने जनाउँदै मृत्युदण्डको सजायलाई उचित हुने ठहर गरेको हो ।
