महासचिव गुरुङ भन्छन् : अभियानबाट प्रतिगामी विचारको प्रतिवाद गर्ने उद्देश्य हो'
काठमाडौँ — माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई मधेश जागरण’ हुलाकी राजमार्गकेन्द्रित अभियान रौतहट पुग्नबित्तिकै फागुन २४ अचानक स्थगित गर्यो । त्यही समयको सेरोफेरोमा राजावादी काठमाडौं, वीरगन्जलगायत सहरमा प्रदर्शन गरिरहेका थिए ।
झापादेखि कञ्चनपुरसम्म १ हजार ८ सय ४० किलोमिटरभन्दा लामो ‘ननस्टप’ यात्रा गर्ने बताएको माओवादीले उपलब्ध पदाधिकारी बैठकले रौतहटमा स्थगित गर्ने निर्णय गरेको थियो ।
स्थगित भएको अभियान बिहीबार बिहानदेखि बाराबाट सुरु हुँदैछ । त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत वरिष्ठ नेताहरू बारातिर लागिसकेका छन् । माओवादीले अभियान स्थगित गर्नुको मुख्य तीन कारण देखाएको थियो- संसद्मा प्रमुख प्रतिपक्षको भूमिका बढाउने, स्ववियु निर्वाचनमा केन्द्रित हुने, संघीयता र गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने ।
तराई-मधेश केन्द्रित अभियान रोक्नुको अरु कारण पनि थिए, धपेडीका कारण नेताहरुको थकान, अभियानमा स्थानीयको उपस्थिति घट्दै जानु र माओवादी अभियान हुने जिल्लामा राजावादीहरूको हुने सम्भावित प्रर्दशन । फागुन २७ मा दाहालले संसद्मा विशेष समय लिएर कांग्रेस गठबन्धन सरकारको चर्को आलोचना मात्र गरेनन्, राजावादीहरू सल्बाउनुको मुख्य कारण सरकार जिम्मेवार भएको आरोपसमेत लगाए । उनले आफ्नो तराई-मधेश जागरण अभियानमा सरकारले जनसेवाका कारण राम्रो गर्न नसक्दा चरम असन्तुष्टि भएको भन्दै सरकारले ‘बिचौलिया’ ले चलाएको आरोप समेत लगाउन भ्याए ।
संसद्मा सम्बोधन गरेपछि दाहाल केही दिन आराम गरेपछि मधेश झरेका छन् । माओवादीले अब हुने अभियानको ढाँचा परिवर्तन गरेको छ । यसअघि दाहाल बिहानैदेखि बुलुकासम्म घरदैलो र सभामा केन्द्रित हुन्थे भने अब बिहानी हिडाइँमा अन्तरक्रिया र स्थानीय जनप्रतिनिधि, व्यवसायीसँग अन्तरक्रिया र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
माओवादी उपमहासचिव मात्रिका यादवले बाराबाट जागरण अभिायनको ढाँचा परिवर्तन हुने बताएका छन् । ‘अब अलि गुणात्मक ढंगले कार्यक्रमको ढाँचा परिवर्तन गरिएको छ । यसअघिको अभियानमा अध्यक्ष प्रचण्ड सबभन्दा बढी खट्दा समय धेरै खर्च भएको थियो । अबचाहिँ सबै नेता ठाउँ-ठाउँ केन्द्रित हुने कार्यक्रम छ,’ उनले भने, ‘अब अध्यक्षलगायत नेताहरूले जनतासँग अन्तरक्रिया गर्नुपर्ने छ ।’
मधेशका बारा र पर्सा सकेर बागमतीको चितवनमा अभियान चितवन आएर केही दिनका लागि रोक्ने तयारी छ । अभियान रोकेर दाहालसहित शीर्ष नेताहरू राजधानी फर्केर संसद् र अरु कार्यक्रममा केन्द्रित हुने योजना छ । ‘जागरण अभियान र संसद्लाई उत्तिकै प्राथमिकतामा राखेर कार्यक्रम गर्ने सल्लाह भएको छ,’ यादवले भने, ‘हामी पूर्ण रूपमा अभियानमा लाग्दा कांठमाडौंमा हस्तक्षेप नपुग्ने रहेछ ।’
फागुन १२ देखि झापाको कचनकवलबाट सुरु भएको राजनीतिक अभियान चैत तेस्रो साता सक्ने माओवादीको तयारी छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले राजनीतिक अभियानसँग संसद् र अरु केन्द्रीय कामलाई सँगसँगै लगिने बताए । ‘अब गुणात्मक खालका कार्यक्रम बनाएर जान्छौँ । बारा, पर्सा र चितवनको अभियान सकेर । केन्द्रीय काम (संसद् र अन्य) गर्न काठमाडौं फर्कन्छौँ,’ उनले भने, ‘समाजवादी मोर्चाले काठमाडौंमा गर्ने चैत १५ को प्रदर्शनपछि फेरि जागरण अभियान सुरु हुन्छ ।’
दाहाल काठमाडौं फर्केर समाजवादी मोर्चालाई क्रियाशील गराए । मोर्चाले पूर्वआयुक्त, कानुनविद्, पूर्वराजदूत, नागरिक समाजका प्रतिनिधिसँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको छ । उनीहरूले संघीय गणतन्त्रको रक्षा गर्न राजनीतिक दल सच्चिन सुझाव दिएका थिए । संघीय लोकतन्त्र ल्याउन भूमिका खेलेका दल पटक-पटक सरकारमा गए पनि आम मानिसको जीवनस्तरमा सकरात्मक प्रभाव पार्न चुकेका कारण निराशा र आक्रोश बढ्दै गएकाले दलहरू नसच्चिए सकिने बताएका थिए । उनीहरूले राजनीतिक दलकै कारण राजावादीका गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसको प्रतिक्रिया दिनुभन्दा सरकार र बाहिर रहे पनि जनताको विश्वास जित्नुपर्ने बताए ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी र नेपाल कम्युनिस्ट पार्टीको साझा मोर्चाले चैत १५ मा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । मोर्चाले संघीयता र गणतन्त्रविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
'प्रतिगामी विचारको प्रतिवाद गर्ने उद्देश्य हो'
देव गुरुङ, महासचिव, माओवादी केन्द्र
समाजवादी मोर्चाले राजधानीमा गर्ने भनिएको प्रदर्शन तयारी कस्तो छ ?
तयारी चलिरहेको छ ।
राजावादीहरूको प्रतिवाद गर्न समाजवादी मोर्चाले प्रदर्शन गर्न खोजेको आरोप छ नि ?
अस्ति समाजवादी मोर्चाले निकालेको वक्तव्य र शीर्ष नेताहरूको भनाइमा यो कुरा प्रस्ट कुरा छ । यो कसैप्रति लक्षितभन्दा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षाका लागि जनतालाई आफ्ना कुरा स्पष्ट भन्नुपर्ने अवस्था आएकाले प्रदर्शन गर्न लागिएको हो । यो विषय स्पष्ट छ, मनोगत ढंगले अर्को कुरा गरेर कहाँ हुन्छ ? बदनाम गर्न तोडमरोड गर्ने कुरा भएन नि ।
राजनीतिक दलकै कारण राजावादी सडकमा आएको होइन र ?
कांग्रेस-एमालेले विस्तृत शान्ति सम्झौताबाट पछि हटेर संविधान संशोधन गर्न खोजे । कांग्रेस र एमाले शान्ति सम्झौताबाट पछि हटेकाले राजावादीहरूले टाउको उठाउन खोजेका छन् । शान्ति सम्झौताले उठाएका मुद्दा उल्टाउन लागे भनेपछि राजावादीहरू सल्बलाउन खोजेका हुन् । सबै तथ्य जगजाहेर छन् । हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने कुरामा स्पष्ट छौँ ।
हुलाकी राजमार्ग केन्द्रित अभियान रोकेर राजावादीविरुद्ध प्रदर्शन गर्न माओवादी काठमाडौं फर्केको होइन र ?
माओवादीले संघीयता, गणतन्त्र ल्याउन अगुवाइ गरेकै हो । हामी अग्रगामी विचारको हिसाबले अघि बढ्छौँ । हामी जागरण अभियान फेरि सुरु गर्दैछौँ । हाम्रो पार्टी अहिले पनि गणतन्त्र रक्षाका लागि अगुवा गर्न तत्परनै छ । त्यही जिम्मेवारीबोधका साथ भूमिका खेलिरहेकै छ । त्यसकारण गणतन्त्रको पक्षमा को लाग्छन्, लाग्दैनन् भन्ने कुरा शान्ति सम्झौतामा अडिग हुने/नुहेनमा निर्भर रहन्छ । जो विस्तृत शान्ति सम्झौता उल्ट्याएर गणतन्त्रको विपक्षमा जान्छन् भने उनैलाई सोध्ने कुरा हो ।
समाजवादी मोर्चा र माओवादीले राजावादीको शक्तिलाई कसरी हेरेको छ ?
यो विचार र नीतिको प्रश्न हो । खुला राजनीतिमा आआफ्नो धारणा राख्ने कुरा हुन्छ । हामी गणतन्त्रको पक्षमा आफ्नो धारणा राख्दै आएका छौ । प्रतिगामी विचारको प्रतिवाद गर्ने मोर्चाको उद्देश्य हो । बहस गर्ने हो । यो सीधा कुरा छ ।
समाजवादी मोर्चाले भिडन्त निम्त्याउन खोज्यो भन्ने आरोप छ नि ?
उनीहरूले मनोगत ढंगले जे पनि भन्न सक्छ नि । हामीले मोर्चाको विज्ञप्तिमा स्पष्ट भनिसकेका छौँ कि हाम्रो प्रदर्शन कसैप्रति लक्षित होइन । संविधानको रक्षा र गणतन्त्रको पक्षमा हो ।
