कराते महासंघले विभेद गरेको भन्दै साग स्वर्ण विजेता विप्लवले लिए संन्यास

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Sag gold winner Biplav retired saying that he was discriminated against by the Karate Federation

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले बुधबार संन्यास घोषणा गरेका छन् । गत वर्ष हाङचाउ एसियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै संन्यास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासंघ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।

उनले भने, ‘मलाई छोड्न मन भएर कराते त्याग्न लागेको होइन । किनकि यो मेरो मनपर्ने खेल हो । यही खेलमा वर्षौं मिहिनेत गरेको छु । तर बाध्य भएर छोड्दै छु । त्यो बाध्यता भनेको कराते महासंघ नेतृत्व (युवराज लामा) बाट जुन विभेद भयो, त्यो सह्य भएन ।’ एसियाली खेलकुद खेलेर आएपछि नै आफूमाथि त्यस्ता किमिसका व्यवहारहरू गरिएको उनको भनाइ थियो ।

एरिका गुरुङले स्वर्ण जितेको १० औं सितेरियो इन्टरनेसनल च्याम्पियनसिपमा विप्लवले रजत जितेका थिए । चीनमा भएको एसियाडमा दुई बाउट जित्दै पदक नजिक पुगेका थिए ।

त्यसपछि उनले यूएस ओपन कराते च्याम्पियनसिपमा सहभागिता जनाए भने भुटानमा जुलाईमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । ‘मेरो आफ्नो जुन क्षमता हो, त्यो किसिमको प्लेटफर्म दिनुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित गराइयो । एसियाड खेलेपछि अर्को एसियाडका लागि जुन सपना देखेको थिएँ, पदक जित्न सक्छु साहस बढेको थियो तर मिसन २०२६ क्याम्पमै राखिएन, जबकि भुटानमा स्वर्ण जितेका सबैलाई राख्ने भनिएको थियो,’ कराते नेतृत्वको थिचोमिचोका कारण निरासाले कराते नै छोड्ने अवस्थामा पुगेको विप्लवले सुनाए ।

उनले ठोकुवा गर्दै भने, ‘धेरै खेलाडीले आफूभित्रको मर्का भन्न सक्दैनन् । भित्रभित्रै पिल्सिएर बसेका छन् । किनकि सबैका आआफ्नै कारणहरू हुन्छन् । तर मैले आफूमाथि अन्याय सहन सकिनँ । त्यसविरुद्ध आवाज उठाएको हुँ । यो मेरोमात्र होइन, सबै कराते खेलाडीको आवाज हो ।’

विप्लवले आफ्ना गुरु तथा प्रशिक्षक दीपक श्रेष्ठसँगको निकट सम्बन्धका कारण कराते महासंघले बेवास्ता गर्ने शैली अपनाएको भन्न भ्याए । दुईपल्टका सागका स्वर्णधारी तथा एनएनआईपीएका अध्यक्ष श्रेष्ठको महासंघसँगको सम्बन्ध चिसिएको छ । हाङचाउ एसियाडका लागि कराते छनोट प्रतियोगितामा विप्लवको खेलका दौरान विवाद हुँदा दीपक श्रेष्ठले अर्का एक प्रशिक्षकमाथि हातपात गरेका थिए । जसका कारण उनी महासंघबाट निलम्बनमा परेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully