काठमाडौँ — हवाई टिकट लगायतमा गत आर्थिक वर्षदेखि लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) नेपालको पर्यटन उद्योगका लागि गल्पासोसरह भएको व्यवसायीहरूले गुनासो गरेका छन्।
नेपाल उद्योग परिसंघले मंगलबार ललितपुरमा आयोजना गरेको पर्यटन उद्योग केन्द्रित पूर्व बजेट अर्न्तक्रिया तथा छलफलमा व्यवसायीहरूले नेपालको हवाई टिकटमा लगाइएको भ्याटका कारण नेपाली बजारबाट अर्बौ रुपैयाँ विदेशी बजारमा गएको, हुन्डीले प्रसय पाएको र पर्यटकको संख्या घटेको बताए ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद सिंह, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव, सांसद उदय शमशेर राणा, सुनिता बराल, एमालेको पर्यटन विभाग प्रमुख तथा पूर्व पर्यटन मन्त्री भीम आचार्य, परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल लगायत सहभागी थिए ।
नेपालको पर्यटन बजारमा सबैभन्दा धेरै ११ लाख ४७ हजार विदेशी राहादानीबाहक (पर्यटक) आगमन भएको तथ्यांक छ । तर, भ्याटका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा अत्याधिकम मंहगो भएको नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारीले बताइन् । उनले भ्याटको विकल्पमा संघीय सरकारले एकद्धार प्रणालीबाट २ प्रतिशत टुरिस्ट कर संकलन गरेर करजन्य झन्झटलाई हटाउन माग गरिन्।
छलफलको उद्देश्य सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिने थियो । तर त्यहाँ सहभागी होटल, वायुसेवा, आरोहण, टुर, ट्राभल, रेष्टुरेन्ट, टुरगाइड, ट्राभल लगायतका पेशाका छाता संगठनका पदाधिकारी थिए । उनीहरू सबैले आगामी वर्ष हवाई टिकटमा लगाइएको भ्याट हटाउनुपर्ने सुझाव दिए ।
‘मेरै बुवा आमा अमेरिका जानुपर्ने भ्याटका कारण मैले बहिनीलाई अमेरिकाबाटै टिकट किन्न लगाएँ’, नेपाल राफ्टीङ्ग एजेन्सिज एशोशिएसन (नारा) का अध्यक्ष शिव अधिकारीले भने, ‘नेपालमा किन्दा अतिरिक्त १३ प्रतिशत भ्याट लाग्छ। त्योभन्दा विदेशमा किन्दा सस्तो पर्ने भएकाले उतैबाट किन्न बाध्य भएँ ।’
कोरोना माहामारीका कारण थिलथिलो भएको नेपालको पर्यटन उद्योगको आर्थिक अवस्थामा अझै सुधार आइनसकेको, बैक तथा वित्तिय संस्थाको ऋण भुक्तानी नियमित हुन नसकेको लागतयका कारण व्यवसायीले हवाइ टिकट, जहाज नियार्त, पार्टपुर्जा लगायतमा लगाइएको भ्याट फिर्ता लिन संसदीय समितिमार्फत सरकारसमक्ष बारम्बार माग गर्दै आइरहेका छन् ।
भ्याट हटाउन माग गर्दै ३ हजार बढी ट्राभल एण्ड टुर अपरेटरहरू नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मार्फत साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए । यो मुद्दा सुनवाईका क्रममा रहेको छ । यसअघि मंगलबार नाट्टाले लाजिम्पाटमा आयोजना गरेको ६० वर्षगाठको घोषणा कार्यक्रममा पनि अध्यक्ष कुमारमणी थपलियाले विदेशी मुलुकबाट हवाई टिकट किनेर नेपाल आउदा र नेपालबाटै हवाई टिकट किन्दा २३ गुणा महँगो हवाई भाडा पुगेको बताएका थिए ।
‘हालको अवस्था हेर्दा, अमेरिका लगायत भारतका विभिन्न शहरहरूबाट नेपाल आउदा औसतमा झन्डै १२ सय अमेरिकी डलरमै दोहोरो टिकट पाइन्छ,’अध्यक्ष थपलियाले भने,‘तर सोही तुलनामा नेपालकालागि हवाई भाडा २ देखी ३ सय गुणासम्म मंहगो गर्न आउँछ ।’
पर्यटन मन्त्रालयलाई आगमी वर्षको बजेट बनाउन सिलिङ्ग प्राप्त भएको बताउदै पर्यटन सचिव विनोद सिंहले भ्याटबारे सर्वत्र चासो व्यक्त भएकाले सरकारले हटाउने मनशाय बनाइरहेको बताए । उनले पर्यटन सम्वन्धि ऐनहरू धेरै वर्ष पुराना भएकाले तीनलाई अध्यावधिक गर्ने, व्यवसायीमैत्री नया कानुन निर्माण गर्ने लगायतका नितिगत काम भइरहेको बताए ।
