काठमाडौँ — उर्जा मन्त्रालयलाई कुलमानको प्रश्न, सदरमुकाममै गाँजाको गोदामदेखि सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्युसम्मका समाचार आज चर्चामा रहे ।
०००
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन खोज्नुका कारण ऊर्जा मन्त्रालयलाई नै सोधेका छन् । घिसिङले आइतबार मन्त्रालयमा सफाई पेस गर्दै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन कुन काम नगरेको भन्दै उल्टै प्रश्न गरेका हुन् ।
०००
पछिल्लो समय बाराको औद्योगिक, राजमार्ग र नेपाल–भारत सीमावर्ती दसगजा क्षेत्रका गाउँमा लागुऔषध अफिमको कारोबार बढेको छ । पहाडबाट ल्याइएको अफिम भारततिर पुर्याउन व्यापारीलाई दिन जाने क्रममा पटकपटक बरामद हुन थालेको हो । जिल्ला प्रहरी बाराका अनुसार फागुन १ देखि २१ सम्म ३३ किलो ११ ग्रामसहित मकवानपुरका १० र धादिङका २ गरी १२ जना भरिया पक्राउ परेका छन् । तिनीहरुसित ५ वटा मोटरसाइकल पनि बरामद भएको छ । राजविराज गोदामबाट २४ क्विन्टल साढे १९ किलो गाँजा बरामद भएको थियो ।
०००
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँ विभिन्न ठाउँबाट र्याली निकालिएको छ । राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले ज्ञानेन्द्रको स्वागतमा र्याली निकालेका हुन् ।
०००
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
०००
न्युजिल्यान्डले च्याम्पियन्स ट्रफिको फाइनलमा आइतबार २ सय ५२ रनको चुनौती पेस गरेको छ । दुबईमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सम्मानजनक स्कोर खडा गरेको हो ।
