आज देश दुनियाँमा के के भयो ?

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — रिंकु सदा मृत्यु प्रकरणमा ८ जना नियन्त्रणमा, जाहेरीमा किटान गरिएका ४ अझै फरार, संविधान फालेर फेरि राणाशासन ल्याउने ? प्रधानमन्त्री ओलीको प्रश्नदेखि डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएकोसम्मका खबर आज चर्चामा रहे । 

000

सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् । 

000

राष्ट्रिय एकतालाई भाँजो हाल्ने अनेक प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकमा कराएर सरकार परिवर्तन नहुने दाबी गरे । देशमा सुशासन र स्थायित्व ल्याउन तथा ‘समृद्ध नेपाल,सुखी नेपाली’ बनाउन सरकार प्रयत्नशील भएको उनको उनको भनाइ छ ।  

000

कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा शुक्रबार आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् । 

000

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीमा साइबर जोखिम न्यूनीकरणका लागि भुक्तानी  प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन गरेको छ । साबिकको निर्देशनको नम्बर १२/०८० को बुँदा नम्बर २ मा उप-बुँदा (७) र (८) थप गरेर राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई साइबर जोखिम न्यूनीकरणका लागि आइडेन्टिफिकेसन, प्रोटेक्सन, डिटेक्सन, रेस्पोन्स र रिकभरी प्रक्रिया अपनाउन र एआई तथा मसिन लर्निङमा आधारित फ्रड डिटेक्सन प्रणाली लागू गर्न निर्देशन दिएको छ । 

000

दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि अनुमति दिएको छ । निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गरेका थिए र उनको हिरासत गैरकानुनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो । 

कान्तिपुर

Link copied successfully