रिंकु सदा मृत्यु प्रकरण : अहिलेसम्म ८ जना नियन्त्रणमा, जाहेरीमा किटान गरिएका ४ अझै फरार

फाल्गुन २३, २०८१

विनय आजाद

Rinku Sada death case: So far 8 people are in custody, 4 accused in the complaint are still absconding

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।

यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम नभए पनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति हुन् । चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो ।

यसैगरी, बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । यस्तै, अन्य चार जनालाई भने शुक्रबार बिहान लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

उनीहरूमाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए । यस घटनामा संलग्न अन्यको खोजीकार्यमा प्रहरीको छुट्टाछुट्टै टोलीहरूले खटिएको प्रहरीले जनाएको छ ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully