सुर्खेत — राष्ट्रिय एकतालाई भाँजो हाल्ने अनेक प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकमा कराएर सरकार परिवर्तन नहुने दाबी गरे । देशमा सुशासन र स्थायित्व ल्याउन तथा ‘समृद्ध नेपाल,सुखी नेपाली’ बनाउन सरकार प्रयत्नशील भएको उनको उनको भनाइ छ ।
उनले अराजकता मच्चाएकै भरमा सत्ता कब्जा गर्न खोजिएको आरोप लगाए । ‘यो संविधान फाल्ने, के फेरि राणाशासन ल्याउने ?, अब पञ्चायततिर फर्किने ?,’ उनले भने, ‘अहिले गन्तव्यहीन कुराको बाढी आइरहेको छ, हामी सभ्य देशका मानिस हौँ, असभ्यता हाम्रो संस्कृति होइन, हाम्रो संस्कारमाथि अनेक धावा बोल्ने प्रयास भइरहेको छ, जात, धर्म, पहिचानका नाममा विभिन्न नेपाली जनताका बीचमा फाटो ल्याउने, देशलाई सही ढंगबाट चल्न नदिएर नियन्त्रित अस्थिरतातर्फ राख्ने प्रयास गरिरहेका छन्, त्यो हामी कदापि सफल हुन दिदैनौं ।’
अहिलेको सरकार साधारण अवस्थामा नबनेकाले सानो कुराले नढल्ने प्रधानमन्त्री ओलीले बताए । ‘अहिलेको सरकार संसद्का सबैभन्दा ठूला पार्टी, जो एकलाई उछिनेर अर्को ठूलो पार्टी हुन चाहन्छ उनीहरूबीच सहमति भएर सरकार बनेको हो, यसरी कहिल्यै सरकार बन्दैन,’ उनले भने, ‘प्रतिस्पर्धी पार्टी कहिल्यै मिल्दैनन्, अहिलेको अवस्थामा देशै बचाउन हामीले सहकार्य गरेका हौँ, हामीसँग सुदृढ बहुमत छ, त्यसैले सानातिना कुरामा अहिल्यै हेरफेर हुँदैन, कम्तीमा आगामी चुनावसम्म हाम्रो सहकार्य जारी हुन्छ ।’
केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग सहयोगी भूमिका खेलिरहेको प्रधानमन्त्री ओलीले बताए । ‘त्यसका लागि अन्तरक्रियात्मक ढंगले परामर्श भइरहेको छ,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारलाई सुदृढ गराउन बजेटसँग आधारित भएर विकासका योजना बनाइरहेका छौँ ।’
