आज देश दुनियाँमा के-के भयो ? 

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — कागजातविहीन ८ नेपालीलाई अमेरिकी चार्टर विमानबाट काठमाडौं उतारियो, जापान र क्यानडासहित ६ देशबाट पनि ११ नेपाली फिर्ता, पाथीभरा-मुकुम्लुङ क्षेत्रमा नो केबलकार भन्दै माइतीघरमा प्रदर्शनदेखि जेलेन्स्की अमेरिकासँग मिलेर अघि बढ्न तयार, ट्रम्पले गरे स्वागतसम्मका खबर आज चर्चामा रहे । 

000

आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले ८ जना नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको छ । उनीहरूलाई केहीबेर अघि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको हो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सात जना पुरुष र एक जना महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

000

अमेरिकाबाहेकका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार जापानले २ जना र दक्षिण कोरिया, श्रीलंका र क्यानडाबाट ३ जना नेपालीलाई डिपोर्ट गरिएको हो । बाज्रिल पुगेका ३ जना र अजरवैजान पुगेका ३ जना गरी ६ जनालाई ‘इन्ट्री रिफ्युज’ (प्रवेश निषेध) गरी पठाएको छ । 

000

प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकार भएका छन् । संघीय संसद्का दुवै सदनका हिउँदे अधिवशेनको पहिलो बैठक माघ १८ मा पेस भएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकार गरिएका छन् । सत्तारुढ दलभित्र नै विवाद उत्पन्न भएर राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था आएपछि सरकारले एउटा अध्यादेश भने 'स्वीकार गरियोस्' भन्ने प्रस्ताव नै सदनमा राखेन । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत 

प्रतिनिधिसभाबाट सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश स्वीकृत 

प्रतिनिधिसभाबाट ‘निजीकरण अध्यादेश’ स्वीकृत  

000

पाथीभरा-मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण तत्काल बन्द गर्नुपर्ने मागसहित काठमाडौंमा विरोध प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङ र आदिवासी नेवा: राजीतिक अभियानलगायतको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा मुकुम्लुङ आन्दोलनमा भएको राज्यको दमन रोक्न माग गरिएको छ । त्यस्तै केबलकार निर्माण तत्काल बन्द गर्न र पवित्र मुन्धुमी धार्मिक क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको छ ।

000

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र उनी युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘मैले जेलेन्स्कीबाट पत्र प्राप्त गरेको छुँ । पत्रमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेका छन्,’ ट्रम्पले भने । 

कान्तिपुर

Link copied successfully