आज देश-दुनियाँमा के-के भयो ?

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — पशुपतिनाथ मन्दिरमा बुधबार शिवरात्रि पर्व धुमधामले मनाइयो, नक्कली 'ब्ल्याक लेबल' बनाउने गिरोहको बिगबिगी : मालिक फरार, भरिया पक्राउदेखि ५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस् भन्ने ट्रम्पको अफरसम्मका खबर आज चर्चामा रहे ।

000

म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारणमा ३ सय ९० मेगावाट बिजुली थपिनेछ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट मात्र पाँच वर्षमा ४ वटा आयोजनाले १ सय ११ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् । 

000

पशुपतिनाथ मन्दिरमा बुधबार शिवरात्रि पर्व धुमधामले मनाइएको छ । आज शिवको पूजा आरधनाका लागि भक्तजनहरुको भीड लागेको छ । झकिझकाउ बनाइएको पशुपतिनाथमा स्वदेशी र भारतीय बाबाहरुले पनि धेरैको ध्यान खिचेका छन् । पशुपति विकास कोषले शिवरात्रिका लागि यसपटक डेढ करोड बजेट विनियोजन गरेको छ । उक्त रकम पशुपति मन्दिर परिसरमा रंगरोगन, साधुसन्तलाई खानपान, धुनीका लागि दाउरा/मुढा व्यवस्थापनलगायतमा खर्च गरिने कोषले जनाएको छ ।  

000

नक्कली मदिरा उत्पादनका लागि भन्सार छलेर कच्चा सामग्री ल्याउने  दुई जनाविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले ५ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको छ । महँगो ब्रान्डको विदेशी मदिराको ‘प्याकेजिङ’मा प्रयोग हुने सामग्रीको मूल्य, त्यसको बिगो र बिगोको शतप्रतिशत जरिवानासहित ५ करोड २१ लाख रुपैयाँ असुलीसहितको मुद्दा मंगलबार दायर गरिएको हो ।  

000

अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ । 

000

धनाढ्य विदेशीहरूका लागि अमेरिकाले अब भिसा बेच्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पका अनुसार ‘गोल्ड कार्ड’ ५० लाख अमेरिकी डलर (६९ करोड ५० लाख रुपैयाँ) मा खरिद गर्न सकिनेछ ।राष्ट्रपति ट्रम्पले धनाढ्य विदेशीहरूलाई लक्ष्य गरी यो कार्यक्रम घोषणा गरेका हुन् । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ‘गोल्ड कार्ड’ किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् भने अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully