सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति जेलेन्सकी अमेरिकाको भ्रमण गर्ने
वासिङटन — अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ । 'युक्रेनी राष्ट्रपति शुक्रबार आउने भन्ने सुनेको छु,' ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, 'पक्कै पनि यो मेरो साथ ठीक छ यदि उसले चाहन्छ भने । म बुझ्छु, यो ठूलो कुरा हो, धेरै ठूलो कुरा ।'
केहि दिनयता युक्रेनी खनिजको स्वामित्वका विषयमा दुई देशबीच कुराकानी भइरहेको थियो । 'हामीले वास्तवमै केही राम्रा परिमार्जनसहित त्यसमा सहमति जनाएका छौं । यसलाई सकारात्मक परिणामको रूपमा हेरेका छौँ,' एक वरिष्ठ युक्रेनी अधिकारीले बीबीसीसँग भनेका छन् ।
अमेरिकाले यसअघि ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी 'रेयर अर्थ मेटल'का साथै तेल तथा ग्यासलगायत प्राकृतिक स्रोतसाधनमा अधिकार दाबी गरेको थियो । तर अमेरिका त्यसमा भने केही पछि हटेको फाइनान्सियल टाइम्सले जनाएको छ । तर सहमतिमा यसअघि जेलेन्स्कीले राखेको युक्रेनको सुरक्षाबारे भने सहमतिले कुनै ग्यारेन्टी सुनिश्चितता नगरेको बीबीसीले जनाएको छ ।
