नक्कली 'ब्ल्याक लेबल' बनाउने गिरोहको बिगबिगी : मालिक फरार, भरिया पक्राउ

भन्सार छलेर ल्याइएका २ करोड बढीका सामग्री जफत

फाल्गुन १४, २०८१

घनश्याम गौतम

Big Biggie of the gang making fake 'black label': The owner absconded, the porter was arrested

बुटवल — नक्कली मदिरा उत्पादनका लागि भन्सार छलेर कच्चा सामग्री ल्याउने  दुई जनाविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले ५ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको छ । महँगो ब्रान्डको विदेशी मदिराको ‘प्याकेजिङ’मा प्रयोग हुने सामग्रीको मूल्य, त्यसको बिगो र बिगोको शतप्रतिशत जरिवानासहित ५ करोड २१ लाख रुपैयाँ असुलीसहितको मुद्दा मंगलबार दायर गरिएको हो । 

बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा डबल ब्ल्याक लेबल, ब्ल्याक लेबल, भ्याट सिक्स्टी नाइनलगायतका मदिरामा प्रयोग हुने बोतल ढक्कन, अन्तशुल्क स्टिकरसहितका सामग्री बरामद गरेको हो । ती सामग्री बेलहिया नाका हुँदै ल्याएर काठमाडौं लैजाने क्रममा बरामद गरिएको थियो ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने तर, उत्पादनका लागि प्रयोग हुने मदिराका सामग्री बुटवल हुँदै काठमाडौं लैजाने क्रममा बरामद गरिएको थियो । ‘ती सामग्री लिएर जाने क्रममा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका शशांक खनालबाट बरामद गरिएको थियो,’ उनले भने, ‘खनालको बयानका आधारमा ती सामान काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ का रमेश गौतमको भएको देखिएपनि उनी पक्राउ परेका छैनन् ।’ 

कार्यालय र विभागसमेत गौतमको काठमाडौंमा रहेको घरमा पनि खानतलासी गरेको थियो । तर, गौतम पक्राउ नपरे पनि भारियाका रूपमा प्रयोग भएका खनाल र सामग्री मगाएर फरार हुने गौतम दुवै जनाविरुद्ध प्रतिव्यक्ति १ करोड ३० लाख २७ हजार २ सय ९० बिगो र त्यसको शतप्रतिशत जरिवानासाहित दुवै जनालाई मुद्दा दायर गरिएको उनले बताए । 

कार्यालयले प्रतिवादी बनाएकामध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो १ करोड ३० लाख २७ हजार २९० र बिगोको शतप्रतिशत रकम जरिवानासहित ५ करोड २१ लाख ९ हजार १ सय ६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय मुद्दा मागदाबी गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully