आज देश दुनियाँमा के-के भयो ?

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — नेपाली विद्यार्थीको अवस्था बुझ्न प्रहरीका दुई वरिष्ठ अधिकारी केआईआईटी विश्वविद्यालयमा, आगामी बजेट १९ खर्ब हाराहारीको हुनेदेखि युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदी अरबमा वार्तासम्मका खबर आज चर्चामा रहे ।

०००

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको घटना र विकसित परिस्थितिलाई फलोअप गरिरहेको बताएकी छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनालाई निरन्तर रुपमा फलोअप गरिरहेको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छन् । यस्तै लम्साललाई न्याय दिलाउन माग गर्दै काठमाडौंमा मंगलबार प्रदर्शन गरिएको छ ।  

०००

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीबारे संसद्‍मा आफ्ना विषय राख्न पाउँ भनेर समय माग्न आएकी रास्वपा सांसद सुमना श्रेष्ठले आफूसँग दादागिरी देखाएको सभामुख देवराज घिमिरेले आरोप लगाएका छन् । विषय बुझेर र परराष्ट्र मन्त्रालयसँग उक्त विषयमा बुझेपछि मात्रै बोल्न समय दिने भन्दा पनि सांसद श्रेष्ठले दादागिरी शैलीमा प्रस्तुत भएको सभामुख घिमिरेको भनाइ थियो । 

०००

आगामी आर्थिक वर्ष २०८२/८३ मा वार्षिक बजेट करिब १९ खर्ब हाराहारीको हुने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पेस गरेको छ । जसमा आगामी वर्षको बजेट करिब १९ खर्बको सीमाभित्र रहेर बनाउन आयोगले सुझाएको छ ।   

०००

सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले  एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । मधेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ । समितिले मंगलबार नै घटनाबारे बुझ्ने र अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

०००

रुस-युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबीच वार्ता सुरू भएको छ । दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरू भएको हो । वार्तामा अमेरिका र रुस दुवै देशका प्रतिनिधिको नेतृत्व विदेशमन्त्रीले गरेका छन् । रुसका तर्फबाट विदेशमन्त्री सर्गेइ लाभरोभ र युरी उसाकोभ सहभागी छन् । उसाकोभ रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार हुन् । 

कान्तिपुर

Link copied successfully