काठमाडौँ — काठमाडौंको शंखरापुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते, पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियोदेखि एलपी ग्यास उद्योग संघले बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगितसम्मका समाचार आज चर्चामा रहे ।
000
काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन । चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो ।
000
काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडक भासिएको छ । बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
000
नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो । उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
000
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार दिउँसोसम्म इजरायली बन्धकलाई रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको स्वागत गर्दै हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य हुने र इजरायली फौजले हमास पराजित नभएसम्म कडा लडाइँ सुरू गर्ने बताएका बीबीसीले जनाएको छ ।
000
विभागीय टिम नेपाल पुलिस क्लब ११ औंपल्ट आहा-रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पुलिस २४ औं आहा-रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको हो ।
