पुलिस आहा-रारा पोखरा गोल्डकपको फाइनलमा 

माघ ३०, २०८१

दीपक परियार

Police Aha-Rara in Pokhara Gold Cup Final

पोखरा — विभागीय टिम नेपाल पुलिस क्लब ११ औंपल्ट आहा-रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पुलिस २४ औं आहा-रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको हो । 

प्रतियोगिताकै २ सय ५० औं खेलमा सञ्जीव लामाले निर्णायक गोल गर्दा ६ पल्टको च्याम्पियन पुलिसले उत्सव मनायो । उनले खेलको ५८ औं मिनेटमा गोल गर्दै लिएको अग्रता पुलिसले खेलको अन्तिमसम्म कायम राख्यो ।

चर्च ब्वाइजका राज भुसालले क्लियर गरेको बल कलेक्ट गर्दै लामाले २५ यार्डबाट गरेको भली प्रहार गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाउन सकेनन् । उनको त्यो उत्कृष्ट गोल नै निर्णायक बन्दा पुलिस उपाधि यात्रामा अगाडि बढेको छ । उनी प्लेयर अफ द म्याच घोषित भए । 

कीर्तिमानी ११ औंपल्ट फाइनल प्रवेश गर्दा पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । चर्च ब्वाइजले प्रि–क्वार्टरमा एनआरटी र क्वार्टरफाइनलमा साविक विजेता त्रिभुवन आर्मीलाई हराएर सेमिफाइनल यात्रा तय गरेको थियो ।

बिहीबार उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र थ्रीस्टारबीच दोस्रो सेमिफाइनल खेल हुने छ । प्रतियोगितामा पुलिस र मनाङले सर्वाधिक ६–६ पल्ट र थ्रीस्टारले ५ पल्ट उपाधि जितेका छन् ।  

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully