काठमाडौँ — काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडठक भासिएको छ । बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
पानीले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् । मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको बताए । प्रमुख चौधरीले भने, 'प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा हाम्रो पाइप फुटेको हो । हामीले अब त्यस क्षेत्रमा पानी बन्द गर्दैछौँ ।'
सडक डिभिजन, काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेपछि जलमग्न भएको बताए । उनले भने, 'प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो । सडक पनि भासिएको छ । अब प्राधिकरणले त्यो बनाउँछ । जसले बिगारेको हो त्यसैले बनाउने हो ।'
