काठमाडौँ — बुधबार कान्तिपुरमा स्वास्थ्य र शिक्षामन्त्रीका निर्णयविरुद्ध सडकमा आवासीय चिकित्सक ओर्लिएकोदेखि कुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्युलगायतका खबर प्रकाशित भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईका निर्णयविरुद्ध आवासीय चिकित्सकहरू सडकमा ओर्लिएका हुन् ।
बुधबार उनीहरूले काठमाडौंको माइतीघर मण्डल र देशभरका विभिन्न अस्पतालमा विरोध प्रदर्शन गरिएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले जनाएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष समेत रहेका मन्त्रीद्वयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई २५ हजार देखि ३५ हजारसम्म मासिक निर्वाह भत्ता निर्णय गरेका थिए । त्यस्तै दुई वर्ष काम गर्ने सर्तमा निःशुल्क एमडी एमएस लगायतका विषय अध्ययन गर्न पाउने निर्णय समेत उनीहरूले गरेका थिए । आवासीय चिकित्सकहरुले उक्त निर्णय मान्य नहुने बताएका छन् ।
त्यस्तै ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बुधबार साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए । समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भए । कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए भने अन्य पार्टीका सांसदहरूको पनि न्यून उपस्थिति रह्यो । २६ सदस्यीय समितिमा १२ जना मात्रै सांसदको उपस्थिति थियो । कांग्रेसका सांसदहरू पनि हाजिरी लगाएर एजेन्डामा प्रवेश नगर्दै बाहिरिएका थिए । कांग्रेसका सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ अनुपस्थित रहे ।
त्यस्तै प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
त्यस्तै अन्तर्राष्ट्रिय समाचारमा भारतमा कुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको खबर छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् । अधिकारीहरूका अनुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ ।
त्यस्तै आजको खेल समाचारमा एपीएफ नेपाली महिला फुटबलको लिगमा फेरि च्याम्पियन भएको खबर छ । डिफेन्डिङ च्याम्पियन एपीएफले बुधबार दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो ।
