ऊर्जामन्त्री खड्काविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठकमा कांग्रेस सांसद अनुपस्थित

माघ १६, २०८१

कान्तिपुर संवाददाता

The Congress MP was absent from the meeting called to discuss the complaint against Energy Minister Khadka

काठमाडौँ — ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बुधबार साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए । 

समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भए । कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए भने अन्य पार्टीका सांसदहरूको पनि न्यून उपस्थिति रह्यो ।

२६ सदस्यीय समितिमा १२ जना मात्रै सांसदको उपस्थिति थियो । कांग्रेसका सांसदहरू पनि हाजिरी लगाएर एजेन्डामा प्रवेश नगर्दै बाहिरिएका थिए । कांग्रेसका सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ अनुपस्थित रहे ।  

मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो । यी आयोजना ठेक्का लगाउनका लागि मन्त्री खड्काले अनियमितता गरेको आरोप लगाएर समितिमा उजुरी परेको थियो ।

समितिको बैठकमा अधिकांश एमालेका सांसदहरूको उपस्थिति थियो । एमाले सातजनामध्ये ५ जनाको उपस्थिति थियो । एमालेका सांसद ठाकुर गैरे, गोकर्ण बिष्ट, प्रेमबहादुर महर्जन, निर्मला कोइराला र दयालबहादुर शाही उपस्थित थिए । माओवादीका तीनमध्ये एकजना माधव सापकोटाको मात्रै उपस्थिति थियो । रास्वपाका दुई सांसद नै संसदीय दलको बैठक बसेकाले उपस्थित भएका थिएनन् ।  

राप्रपाका सभापति सिंह र सांसद बिना लामा उपस्थित थिए भने जसपाकी शुशिला श्रेष्ठ उपस्थित थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully