काठमाडौँ — एपीएफ नेपाली महिला फुटबलको लिगमा फेरि च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन एपीएफले बुधबार दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो ।
लिगको पहिलो र दोस्रो चरण दुवैमा एपीएफ नै शीर्ष स्थानमा रहेको थियो । यसपल्टको लिगमा एपीएफको यो लगातार १८ औं जित हो ।
पुलिसले पहिलो हाफमा एपीएफलाई गोलरहित बराबरीमा रोके पनि त्यसलाई पछि कायम राख्न सकेन । एपीएफका लागि सविता रानागमरले दुई तथा सरु लिम्बू र अनु लामाले एक गोल गरे ।
सविताले ६४ औं मिनेटमा सुरुकै पासमा गोलको खाता खोलिन् । सरु आफैले ६९ औं मिनेटमा दोस्रो गोल गरिन् । रेनुका नगरकोटेको सुरुआती प्रहार पोस्टमा ठोकिएर फर्केपछि त्यसमै सुरुले निर्णायक प्रहार गरेकी हुन् ।
सविताले ८३ औं मिनेटमा आफ्नो दोस्रो तथा टिमको तेस्रो गोल गरिन् । प्रीति राईले उपलब्ध गराएको पासमा सविताले गोल गरेकी हुन् । दोस्रो हाफको इन्ज्युरी समयमा अनुले चौथो गोल थपिन् ।
महिला लिगमा एपीएफ २०६८ देखि पराजित रहेको छैन् । तर नेपाली महिला लिगबारे स्पष्ट तथ्यांक भने छैन् । एपीएफलाई चार पल्टको डिफेन्डिङ च्याम्पियन मानिएको छ ।
यही प्ले–अफ फाइनल खेलसँगै अनुले आफ्नो खेल जीवनबाट औपचारिक रूपमा सन्यास पनि लिएकी छिन् । खेलका अन्त्यतिर उनी सब्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेकी थिइन् ।
