प्रयागराज — भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् ।
अधिकारीहरूका अनुुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको महाकुम्भका डिआईजी बैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको 'अमृतस्नान' का बेला घटना भएको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भिडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो ।केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको जनाइएको छ । बुधबार करिब १० करोडले स्नान गर्ने अनुमान गरिएको थियो । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्मम ३ करोडले स्नान गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । 'प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,' मोदीले सामाजिक सञ्जालमा लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ । 
विपक्षी दलका नेताहरूले भने दुर्घटनाका लागि सरकारको आलोचना गरेका छन् । सरकार मेलामा श्रद्दालुहरूको व्यवस्थापन गर्न नसकेकाले दुर्घटना निम्तिएको उनीहरूको दाबी छ । प्रमुख विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले अव्यवस्था र भीआईपीलाई मात्र ध्यान दिने प्रशासनको व्यवहारका कारण दुःखद घटना भएको दाबी गरेका छन् ।
गत जनवरी १३ मा कुम्भमेला सुरू भएयता हालसमम्म २० करोड मानिसले स्नान गरिसकेका छन् । ६ साता लामो मेलाका क्रममा हिन्दु धर्माबलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् ।
पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । ४५ दिनसम्म चल्ने कुम्भ मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ । मेलामा सहभागी धर्माबलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । 
शिवरात्रीका दिन समापन हुने मेलालाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले मानवताको अमूर्त सम्पदाको मान्यता दिएको छ । कुम्भ मेलाको उत्पत्ति महासागर मन्थनको क्रममा उत्पन्न भएको अमृतको कुम्भलाई लिएर देवता र दानवहरू बीचको लडाइँबारेको पौराणिक कथामा आधारित छ । अमृतको भाँडोका विषयमा दुई पक्षहरूबीच भएको लडाइँमा अमृतका केही थोपा भारतका प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा खसेको मान्यता छ ।
चारवटै सहरमा मेला आयोजना गरिने भएपनि सबैभन्दा ठूलो मेला भने प्रयागराजमा आयोजना हुने गरेको छ ।१२ खगोलीय वर्षहरूसम्म लडाइँ चलेको हुनाले पृथ्वीमा हरेक १२ वर्षमा कुम्भ मेला चार सहरहरूमा मनाइन्छ । ग्रह र ताराहरू पङ्क्तिबद्ध हिसाबले मिलेकाले यस पटकको पर्व विशेष भएको बताइएको छ । १२ कुम्भ पर्व वा १ सय ४४ वर्षपछि यस्तो पूर्णता देखिएकाले यसपटकको मेलालाई महाकुम्भ भनिएको छ ।
भारतमा धार्मिक कार्यक्रम, मेला र सार्वजनिक स्थानमा ठूलो भिड लाग्ने गरेको छ । ती मेला महोत्सवमा बारम्बार हुने भागदौडका घटनामा कैयाौंको ज्यान जाने गरेको छ । तीन साताअघि भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु भएको थियो ।
गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक प्रवचनस्थलमा भागदौड मच्चिँदा कम्तीमा १ सय २१ जनाको ज्यान गएको थियो । भारतमा सन् २०२१ र २०२२ मा ४७ वटा भागदौडका घटना भएका थिए । तर ती घटनामा ज्यान गुमाउनेको संख्या यकिन छैन ।
