आज देश-दुनियाँमा के-के भयो ?

माघ १५, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — लाइसेन्स नलिई सामाजिक सञ्जाल चलाएमा सरकारले प्लाटफर्म बन्द गरिदिने, ट्रम्पको नीतिले ५० हजार नेपाली फर्किन सक्ने पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको भनाइदेखि चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन तत्कालका लागि रोक्न आदेशसम्मका समाचार आज चर्चामा रहे । 

०००

नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमति पत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्थासहित सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । सोमबार राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लाइसेन्स लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ । 

०००

सामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो ।  

०००

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अवैध आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अमेरिकामा रहेका करिब ५० हजार नेपाली प्रभावित हुन सक्ने बताएका छन् । अमेरिकामा ओभरस्टे र अवैध बाटोबाट गएका करिब ५० हजार नेपाली निकाला हुन सक्ने उनको अनुमान छ । 

०००

भ्रष्टाचारविरोधी आन्दोलन चर्किएपछि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिचले राजीनामा दिने भएका छन् । गत नोभेम्बरमा नोभी सादस्थित रेल स्टेसनमा छत भत्किएपछि देशभर भ्रष्टाचारविरोधी प्रदर्शन चर्किएको छ । सर्बियाकै दोस्रो ठूलो सहर नोभी सादमा घटेको उक्त घटनामा १५ जनाको ज्यान गएको थियो ।  

०००

बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले आदेश जारी गरेको छ । डायस्परा इन्टरटेन्टमेन्ट प्रालिले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम र कथा हुबहु चोरी गरेको भन्दै मुद्दा हालेको थियो । 'अदालतले छलफलको टुंगो नलागेसम्म फिल्म प्रदर्शन गर्नु र नगराउनु भनी आदेश दिएको छ,' अदालतको आदेशमा भनिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully