आज देश-दुनियाँमा के-के भयो ?

माघ १०, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — आज देश-दुनियाँमा अब राजस्व क्षमताका आधारमा समपूरक अनुदान, महाराष्ट्र रेल दुर्घटनामा ७ नेपालीको मृत्यु, मेक्सिको सीमामा १० हजार सेना परिचालन गर्ने ट्रम्पको तयारीसम्मका खबर चर्चामा परे । 

०००

अब प्रदेश र स्थानीय तहले उनीहरूको राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारको आधारमा समपूरक र विशेष अनुदान पाउने भएका छन् । समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारको आधारमा समपूरक अनुदान र विशेष अनुदानको व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए ।

०००

आफ्नो उपचार र सन्तान भेट्न भारतको महाराष्ट्रतर्फ जाँदै गरेकी अछामकी जयकला कामीको रेल दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार भएको रेल दुर्घटनामा परी उनको मृत्यु भएको हो । महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु भएका मध्ये उनी एक हुन् । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जना नेपाली रहेको भारतीय सरकारले पुष्टि गरिसकेको छ । 

०००

काठमाडौं महानगरपालिकाले नेपालस्थित चिनियाँ दूतावासले ‘चिनियाँ नयाँ वर्ष’ सन्दर्भमा ठमेल र रन्तपार्कमा कार्यक्रम गर्न भनी मागेको अनुरोधलाई अस्वीकार गरेको छ । महानगरले ट्राफिक व्यवस्थापनमा चुनौती हुने र सडक अस्तव्यस्त हुने भन्दै चिनियाँ दूतावासलाई उक्त स्थानमा कार्यक्रम गर्न अनुमति नदिएको महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । 

०००

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात वटा विकास बैंक र आठ वटा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही स्वरूप सचेत गराएको हो । 

०००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी गरेका छन् । सरकारको आन्तरिक मेमोअनुसार दक्षिणी क्षेत्रमा १० हजारसम्म सेना तैनाथ गर्न सुझाव दिइएको सीबीएस न्युजले जनाएको छ । बीबीसीका अनुसार ट्रम्पले शपथ लिएको भोलिपल्टको मेमोमा भन्सार तथा सीमा सुरक्षासम्बन्धी निकायलाई सहयोग गर्न १० हजार सैनिकहरू पठाउने योजना उल्लेख गरिएको सीबीएस न्युजले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully