काठमाडौँ — काठमाडौं महानगरपालिकाले नेपालस्थित चिनियाँ दूतावासले ‘चिनियाँ नयाँ वर्ष’ सन्दर्भमा ठमेल र रन्तपार्कमा कार्यक्रम गर्न भनी मागेको अनुरोधलाई अस्वीकार गरेको छ ।
महानगरले ट्राफिक व्यवस्थापनमा चुनौती हुने र सडक अस्तव्यस्त हुने भन्दै चिनियाँ दूतावासलाई उक्त स्थानमा कार्यक्रम गर्न अनुमति नदिएको महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
‘अनुमति माग्नु भएको थियो । यो सहरी व्यस्थापनमा गाह्रो हुने र त्यो स्थान पनि साँघुरो हुने भयो,’ उनले कान्तिपुरसँगको कुराकानीमा भने, ‘त्यसैले कलंकीदेखि महाराजगन्जको बाटोमा कार्यक्रम गर्न उपयुक्त हुने देखिएकाले हामीले त्यहाँ गर्न अनुरोध गरेको हो ।’
जनवरी २६ देखि फेब्रुअरी २९ सम्म एक महिनासम्म चिनियाँ नयाँ वर्ष अर्थात् ‘स्प्रिङ फेस्टिभल’ मनाइने गरिएको छ । सोही अवसरमा दूतावासले गत जनवरी १७ र १९ मा महानगरलाई पत्राचार गरेको थियो । यसमा महानगरले अनुमति दिन अस्विकार गरेको हो ।
दूतावासले महानगरलाई चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिने कार्यक्रमको सह–आयोजक हुन समेत अनुरोध गरेको थियो । तर महानगरले ठमेल र रत्नपार्क स्थानबाहेक अन्य उपयुक्त स्थानमा कार्यक्रम गरे महानगरले सहयोग गर्ने उनले बताए । ‘यसपालि हामीले भनेको स्थानमा भयो भने सहकार्य गर्न तयार हो । ठमेलमा सहकार्य गर्न असमर्थ छौं,’ उनले थप भने ।
