अछाम — आफ्नो उपचार र सन्तान भेट्न भारतको महाराष्ट्रतर्फ जाँदै गरेकी अछामकी जयकला कामीको रेल दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार भएको रेल दुर्घटनामा परी उनको मृत्यु भएको हो ।
महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु भएका मध्ये उनी एक हुन् । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जना नेपाली रहेको भारतीय सरकारले पुष्टि गरिसकेको छ ।
उमेरले ६० वर्ष पूरा गरेकी अछामको कमलबजार नगरपालिका–४ चाल्सकी जयकला भारतमा बस्ने छोराबुहारीले उपचारका लागि बोलाएपछि आइतबार बिहानै अछामबाट महाराष्ट्रसम्मतर्फ लागेकी थिइन् ।
पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका नन्दराम कामी उनका माइतीतिरका नातेदार हुन् । नन्दरामको साथ लागेर उनी छोराबुहारी र नाति भेट्न महाराष्ट्रतर्फ लागेकी थिइन् । उनै जयकलाको महाराष्ट्रको जलगाउँमा बुधबार दिउँसो भएको रेल दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा नन्दराम विक, उनकी श्रीमती र छोराको पनि मृत्यु भएको छ ।
५ छोरा र ४ छोरीकी आमा जयकला वर्षौंदेखि पेट दुख्ने समस्यासँग जुधिरहेकी थिइन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले राम्रो ठाउँमा उपचार गर्न जान सकेकी थिइनन् । एक बुहारी र नाति अछाममा छन् भने उनका बाँकी सबै सन्तान रोजगारीका लागि भारतका विभिन्न ठाउँमा छरिएर रहेका छन् ।
छोराबुहारी र छोरीज्वाइँसँग उनको भेट नभएको करिब ५ वर्ष भइसकेको थियो । एकातिर सन्तान भेट्ने इच्छा र अर्कोतिर वर्षौंदेखि पालिरहेको रोगको उपचारका लागि उत्साहित भएकी जयकला अन्ततः गन्तव्यमा पुग्नै नपाइ मृत्युवरण गर्न पुगेकी छन् ।
घटनास्थलमा रहेका उनका ज्वाइँ राजु विश्वकर्माका अनुसार बिहीबार साँझ मात्रै जयकलाको शव परिवारले बुझेको छ । ‘छोराहरू कोही महाराष्ट्रका टाढाका सहरमा छन् । कोही हिमाचल प्रदेशबाट आउँदै छन् । म पनि आजै (बिहीबार) घटनास्थलमा आइपुगेको हुँ,’ राजुले भने, ‘यतै उपचार गर्ने, ५/६ महिना सबै सन्तानसँग भेट्ने र अछाम फर्किने भनेर आमा आफन्तसँग यता आउन लाग्नुभएको थियो । तर, दुर्भाग्य ! यस्तो घटना भयो ।’ महाराष्ट्रको भिउण्डीमा सबै परिवार जम्मा भएर दाहसंस्कार गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।
महाराष्ट्रको जलगाउा घटनास्थलमा रहेकी नेपाली पत्रकार ललिता मलाती सिंहका अनुसार अछामका मात्रै ७ जनाको मृत्यु भएको हो । रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा धेरैको ज्यान गएको उनले बताइन् ।
