आज दिनभर देश-दुनियाँमा के-के भयो ?

पुस २३, २०८१

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — आज देश-दुनियाँमा तिब्बतमा भूकम्प जाँदा कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते, एक वर्षपछि महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णयदेखि असमको कोइलाखानीमा नेपाली नागरिकसहित ९ श्रमिक थुनिएको सम्मका खबर चर्चामा रहे । 

०००

चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । 

तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

माओवादी केन्द्रीय समिति बैठकले पहिलो छ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को छ महिनापछि महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै माओवादीले एक वर्षपछि पार्टी महाधिवेशन गर्ने समय तय गरेको हो ।

एक वर्षपछि महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–३ का ५६ वर्षीय सन्दुक तामाङलाई सदरमुकाम दुनै पुग्न तीन दिन लाग्छ । चीनको सीमास्थित मरिम्ला नाका भने एकै दिनमा पुग्न सक्छन् । तर चिनियाँ नाका नखुल्दा र सडकको असुविधाले दैनिक उपभोग्य सामान र खाद्यान्नका लागि कष्टपूर्वक सदरमुकाम आउजाउ गर्नुपरेको उनले बताए ।

कर्णाली-चीन सडकको कथा :२० वर्षअघि सुरु, १५ प्रतिशत मात्रै प्रगति

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)प्रतिवेदनले करिब साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।  

पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.४ प्रतिशत

असमको एक  कोइलाखानीमा पानी पसेर थुनिँदा ९ जना श्रमिक थुनिएका छन् । थुनिनेमा १ जना दुई जना नेपाली श्रमिकसमेत रहेका छन् । डिमा हासाओ जिल्लामा रहेको खानीमा अचानक पानी पसेर खानीको मुख थुनिँदा श्रमिकहरू थुनिएका हुन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार खानीमा थुनिने नेपालीमा गंगाबहादुर श्रेष्ठ रहेका छन् ।

असमको कोइलाखानीमा १ नेपाली नागरिकसहित ९ श्रमिक थुनिए

कान्तिपुर

Link copied successfully