पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.४ प्रतिशत  

पुस २३, २०८१

कान्तिपुर संवाददाता

First quarter economic growth rate of 3.4 percent

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)प्रतिवेदनले करिब साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।  

प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष ०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो ।

यो त्रैमासमा सकारात्मक आर्थिक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयले प्रस्ट्याएको छ ।

‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेकाले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

First quarter economic growth rate of 3.4 percent

तर, आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । यस वर्षको पहिलो त्रैमासमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामाभएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको कार्यालयले प्रस्ट्याएको छ । यद्यपि, सो अवधिमा विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

कान्तिपुर

Link copied successfully