काठमाडौँ — आज देश-दुनियाँमा, बैंकले प्रवाह गरेको साढे ५३ खर्ब कहाँ छ ?, सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारीदेखि बालगायक सचिन परियारको निधनसम्मका खबर रुचाइए ।
०००
बैंक तथा वित्तीय संस्थाबाट अहिले ५३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जामध्ये कति प्रतिशत उत्पादनमूलक (आर्थिक वृद्धिमा योगदान पुग्ने क्षेत्रमा) प्रवाह भएको होला ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । यद्यपि, बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको आधाभन्दा बढी अनुत्पादक (आर्थिक वृद्धिमा प्रत्यक्ष रूपमा योगदान नहुने) क्षेत्रमा लगानी भएको देखिन्छ । उल्लिखित तथ्यांक गत शनिबारसम्मको हो ।
कर्जाको कथा : कहाँ छ बैंकले प्रवाह गरेको साढे ५३ खर्ब ?
एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ ।
रावलको आरोप प्रचण्डको ‘कपीपेस्ट’ : एमाले
नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाटसएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले सञ्चालनमा रहेका प्लाटफर्महरूले पनि सो कानुन लागू भएको तीन महिनाभित्र अनुमति पत्र लिइसक्नुपर्ने मस्यौदामा उल्लेख छ ।
सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारी
कूटनीतिज्ञ बिन्दाश्वरी शाहको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान घरमै शाहको निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । शाहको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शाह पहिलो नेपाली महिला राजदूत हुन् ।
नेपालको पहिलो महिला राजदूत बिन्दाश्वरी शाहको निधन
बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी १३ वर्षका थिए । सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
बालगायक सचिन परियारको निधन, के भएको थियो उनलाई ?
