काठमाडौँ — कूटनीतिज्ञ बिन्दाश्वरी शाहको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान घरमै शाहको निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । शाहको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
शाह पहिलो नेपाली महिला राजदूत हुन् । २०४४ सालमा परराष्ट्र सेवाबाट शाह नेपालकै पहिलो महिला राजदूत (भारतका लागि) भएकी थिइन् । बिन्दाश्वरी बैंकर अनिलकेशरी शाहकी आमासमेत हुन् ।
सन् १९८८ राजा वीरेन्द्रले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरे । उनी राजदूत बन्ने पहिलो नेपाली महिलाको कीर्तिमानसमेत राख्न सफल भइन् । भारतमा राजदूतपछि सेवानिवृत्त हुनुअघि केही समय परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारी सम्हालिन् ।
बिन्दाश्वरी शाहको जन्म सन् १९३३ मा भारतको खर्साङमा भएको थियो । बिन्दाश्वरीका बुवा पद्मसुन्दर मल्ल तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका कारण देश छाड्न बाध्य भएका थिए ।
पद्मसुन्दरले जापानमा विद्युतीय इन्जिनियरिङमा स्नातक सकेपछि अमेरिकाको मिसिसिपी विश्वविद्यालयमा त्यही विषयमा सन् १९२२ मा स्नातकोत्तर सकेर फर्किएका थिए । केही समयअघि कान्तिपुरसँगको कुराकानीमा अनिलकेशरी शाहले यो घटना सुनाएका थिए । ‘मेरा हजुरबुबा अमेरिका गएर स्नातकोत्तर गर्ने पहिलो नेपाली हुनुहुँदो रहेछ । धेरै पढेर जान्ने पल्टेको भनेर राणा सरकारले उहाँको जात निकालिदिएछ ,’ अनिलकेशरीले भनेका थिए ।
चन्द्रशमशेरले गरेको अपमान सहन नसकी पद्मसुन्दर दार्जिलिङको खर्साङ बसाइँ सरेका थिए । बिन्दाश्वरीले त्यहाँको सेन्ट हेलेन विद्यालयमा पढेकी थिइन् । उनले सन् १९५१ मा स्नातक गरेपछि ‘द वर्ल्ड अफ टुमारो’ शीर्षकमा निबन्ध लेख्ने संसारका उत्कृष्ट १ सयलाई अमेरिका भ्रमणको अवसर हुने खबर पाएपछि बिन्दाश्वरीले पनि भाग लिइन् । तीन महिनापछि पत्र आयो– ‘तिमी छानियौ, बधाई छ ।’
सन् १९५२ मा उनी अमेरिका पुगिन् र अनेकन ठाउँ भ्रमण गरिन् । १९५६ मा बिन्दाश्वरी कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट लिबरल आर्ट्समा स्नातक उपाधि हासिल गर्दै अमेरिकी कलेजबाट स्नातक गर्ने पहिलो नेपाली महिला बनिन्। उनले सन् १९५८ मा स्कूल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिज, जोन्स हप्किन्स युनिभर्सिटी, वाशिंगटन डीसीबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरिन् । त्यसपछि उनी नेपाल फर्किइएकी थिइन् । नयाँसडकमा खुलेको अमेरिकन पुस्तकालयमा चिफ लाइब्रेरियनका रूपमा काम गरिन् ।
त्यसपछि उनी लोक सेवा परीक्षा दिएर परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । अमेरिकामा मातृकाप्रसाद कोइराला राजदूत भएका बेला वासिंटन डीसीस्थित नेपाली दूतावासमा बिन्दाश्वरी पनि कार्यरत थिइन् । बंगलादेश स्वतन्त्र भएसँगै कूटनीतिक सम्बन्ध स्थापना गर्न राजा वीरेन्द्रले उनलाई ढाका पठाएका थिए । सैनिक विद्रोह र राष्ट्रपति शेख मुजिबुर रहमानको हत्याका बखत पनि उनी १९७६ मा आफ्नो कार्यकालको अन्त्यसम्म बंगलादेशमै रहेकी थिइन् ।
