काठमाडौँ — आज दिनभर देश-दुनियाँमा सरकारले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने, ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण’ गर्ने नेता भीम रावलको घोषणादेखि बझाङको विकट साइपालमा नुनको अभावसम्मका खबर चर्चामा रहे ।
आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो । बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको हो । 'आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्दै सरकार
एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । कम्युनिस्ट, गरैकम्युनिस्ट विचार अटाउने ‘उदारवादी विचारधारा’ भएको पार्टी गठन गर्ने गृहकार्यमा लागेका रावलले बुधबार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने जनाएका छन् ।
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने रावलको घोषणा
बझाङको विकट साइपाल गाउँपालिकामा नुनको अभाव हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै ढुवानीको व्यवस्था नगर्दा नुन अभाव देखिन थालेको हो । ‘पोहोर साल मंसिरमा किनेको नुन अहिलेसम्म चल्यो । पुस लागेपछि छिमेकीबाट ऐंचोपैंचो गरेर खाइरहेका छौं,’ जिल्लाको अन्तिम मानव बस्ती धुलीकी मोतिमा रोकायाले भनिन्, ‘हिउँ पर्न थालिसक्यो । अहिलेसम्म नुन ल्याएनन् । हिउँदभरि अलिनै खानु पर्छ जस्तो छ ।’
हिमपातअगावै साइपालमा नुन नपुगे हाहाकार मच्चिने चेतावनी
स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले बर्सेनि भरपर्दो आयआर्जनको खोजीको सिलसिलामा बिदेसिने नेपालीहरूको सङ्ख्या बढ्दो छ । विदेशबाट फर्किएकामध्ये केहीले भने वैदेशिक रोजगारीका क्रममा सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगारसमेत बनेका छन् ।
गत वर्ष मात्र कर्णाली प्रदेशबाट १८ हजारभन्दा बढी बिदेसिए
धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नमिल्ने दाबी गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने भन्दै धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान गरेका छन् ।
माइतीघरमा जनमतले मनायो धोती दिवस [तस्बिरहरू]
'सबै पोसाकको सम्मान : नेपाली टोपी नेपाली पहिचान' भन्ने नाराका साथ बुधबार १२ औं राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइएको छ । नेपाली टोपी लगाएर काठमाडौंको बसन्तपुरमा जम्मा भएका युवाहरूले नाचगानसहित उक्त दिवस मनाएका हुन् ।
मनाइयो टोपी दिवस [तस्बिरहरू]
