काठमाडौँ — आज विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बोर्डका सदस्य सचिव कुलमान घिसिङले नोट अफ डिसेन्ट लेखेको, चालु आर्थिक वर्षको पाँच महिनामा २९ लाख २० हजार रुपैयाँको कुरिलो निर्यातदेखि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको सम्मका समाचार चर्चामा रहे ।
०००
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 'नोट अफ डिसेन्ट' लेखेका छन् । घिसिङले लेखेको 'नोट अफ डिसेन्ट'लाई प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् । पहिलो पटक प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बोर्डका सदस्य सचिव घिसिङले नोट अफ डिसेन्ट लेखेका हुन् ।
विद्युत् प्राधिकरणको बोर्ड बैठकमा कुलमानको नोट अफ डिसेन्ट
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । जसमा महिला ६ सय जना र पुरुष चार सय जना रहेका छन् । इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो ।
इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु
संविधान संशोधनको चर्चाले मधेशवादी दलहरूलाई नजिक्याएको छ । दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधनको छलफललाई अघि बढाएपछि यसअघिका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने संशय मधेशवादी दलहरूमा देखिएको छ । त्यही संशयले उनीहरूलाई एउटै मञ्चमामा मात्रै ल्याएको छैन, सहकार्यतर्फ अग्रसर हुने प्रेरणा पनि दिएको छ ।
संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशी दल
चालु आर्थिक वर्षको पाँच महिनामा २९ लाख २० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ । भन्सार विभागका अनुसार पाँच महिनामा १८ हजार ७०९ किलो कुरिलो निर्याता भएको हो । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा भने यस वर्ष कुरिलो निर्यात घटेको छ । गत आर्थिक वर्षको पाँच महिनामा ९५ लाख ३२ हजार रुपैयाँको कुरिलो निर्यात भएको थियो ।
पाँच महिनामा २९ लाख रुपैयाँको कुरिलो निर्यात
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएपछि मंगलबारबाटै थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान पश्चात थुनछेक बहस सुरु भएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : मंगलबारको थुनछेक बहस सकियो
सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए ।
सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए
