संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशी दल 

दुई ठूला दलले निर्वाचन प्रणालीमा संशोधन गरेर समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था खोस्न लागेको मधेशवादी नेताहरूले संशय देखाएका छन् ।

पुस १६, २०८१

कान्तिपुर संवाददाता

The Madhesi party is getting closer to the discussion of constitutional amendment

काठमाडौँ — संविधान संशोधनको चर्चाले मधेशवादी दलहरूलाई नजिक्याएको छ । दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधनको छलफललाई अघि बढाएपछि यसअघिका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने संशय मधेशवादी दलहरूमा देखिएको छ । त्यही संशयले उनीहरूलाई एउटै मञ्चमामा मात्रै ल्याएको छैन, सहकार्यतर्फ अग्रसर हुने प्रेरणा पनि दिएको छ । 

टुक्रा–टुक्रामा विभाजित भएका मधेशवादी दलका नेताहरू धेरैपछि मंगलबार धेरैपछि एउटै मञ्चमा देखिए । उनीहरू सबैमा सम्भावित संविधान संशोधनले प्राप्त उपलब्धि पनि गुम्ने भय देखियो । त्यसका लागि पुनः एकपटक एकता, सहकार्य वा मोर्चाबन्दीको बाध्यात्मक परिस्थिति आएको सबै नेताहरूले भावना प्रकट गरेका छन् ।

मधेशी एकता समाजद्वारा आयोजित कार्यक्रममा नेताहरूले समावेशिताका पक्षधर दलहरू विभाजित र कमजोर भएको मौका ठूला दलले छोप्न चाहेको बताएका छन् । दुई ठूला दलले निर्वाचन प्रणालीमा संशोधन गरेर समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था खोस्न लागेको संशय मधेशवादी नेताहरूले देखाएका छन् ।  उनीहरू संविधान संशोधनको सम्भावित चुनौतीलाई अवसरका रूपमा लिएर ठाउँमा आउनुपर्ने मनोवैज्ञानिक दवाबमा देखिएका छन् ।  

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले २०७२ तीन दलका तीनजना नेता मिलेर नश्लीय संविधान ल्याएको र अहिलेको गर्न खोजिएको संशोधन थप नश्लीय ढंगको हुने आशंका व्यक्त गरे । उनले त्यसलाई रोक्नका लागि मधेशी, आदिवासी, जनजातिसहितका शक्तिहरू मिल्नुको विकल्प नरहेको बताए । 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले मधेशवादी पार्टीहरूबीच ‘लुज एलायन्स’ को प्रस्ताव गरे । ‘धेरै पटक एकता गरेर देखिसक्यौं, कुनै सफल भएन । अवसरवादी चरित्रले पार्टीहरू विभाजित भए,’ उनले भने ‘अब एकताको कुरा नगरौं । तर, मुखैमा आइसकेको चुनौतीलाई सामना गर्न सहकार्य गरौं ।’ उनले ‘लुज एलायन्स’ बनाएर साझा मुद्दामा सहकार्य गर्नुपर्ने सुझाए । संविधान संशोधन गरेर दुईदलीय व्यवस्थामा लैजाने लोकतन्त्रविरोधी कार्यको प्रयास भइरहेको उनले उल्लेख गरे । त्यो चुनौतीको सामना गर्न सबै एक ठाउँमा आउनपर्नेमा उनको जोड थियो । 

जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादवले एक ठाउँमा आउनुपर्ने बाध्यता बन्दै गएको बताए । उनले त्यसका लागि आफ्नो पार्टी तयार रहेको जनाए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि मधेशी शक्ति एक नभए प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेकाले आफ्नो पार्टी सधैं त्यसका लागि अग्रसर रहेको बताए ।

जनमत पार्टीका नेता एवं प्रवक्ता शरदसिंह यादवले संविधान संशोधन मधेशको विपक्षमा हुने देखिएकाले त्यसलाई रोक्न सहकार्य आवश्यक रहेको बताए । 

जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले अब आफू–आफूबीचमा आरोप प्रत्यारोपको बेला नरहेको भन्दै मुद्दालाई हेरेर दलहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेशको राजनीतिमा त्याग र निष्ठा हराएको भन्दै बाँडिएको मधेशले उपलब्धि रक्षा गर्न नसक्ने बताए । उनले मधेशवादी दलको आलोचना गरे । परिवारवाद र सत्तावादमा मधेशवादी दलहरूले मधेशवादको अन्त्य गरेको उनको भनाइ थियो । कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले पनि मधेशी दलहरूबीच सहकार्यको अपारिहार्यतामा जोड दिएका छन् । 

कान्तिपुर

Link copied successfully