आज दिनभर देश दुनियाँमा के-के भयो ?

पुस १५, २०८१

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिएको खबरदेखि हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्‍याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिनेसम्मका खबरहरू सोमबार चर्चामा रहे ।

नुवाकोटमा रहेको शेरा दरबारको जग्गा गैरकानुनी कब्जाका बिषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बाेलेका छन् । अध्यक्ष दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका विकेश श्रेष्ठको परिवारले गैरकानूनी रुपमा लिएको भन्दै सरकारले अनुसन्धान अघि बढाएकाे पृष्ठभूमिमा दाहालले बोलेका हुन् ।

अध्यक्ष दाहालले  झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभामा बोल्दै शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याउन चुनौती दिए । उनले भने, ‘शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउनुपर्छ, त्यसमा हाम्रो पूर्ण साथ रहनेछ ।’

दाहालको चुनौती : शेरा दरबारको जग्गा सार्वजनिक भए सरकारका नाममा ल्याऊ

हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्‍याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्न पाइने भएको छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो । नेपालले ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया–कुशवा, रक्सौल–परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया–सम्पतियाबाट ५० मेगावाट गरी कुल एक हजार ४ मेगावाट आयात गर्न पाइनेछ ।

भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाए ।  ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

आज तमु ल्होसार पर्व मनाइँदै

नेपालका शान्ति प्रक्रियामा जोडिएका अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टर सेन्टरका अनुसार १०० वर्षीय पूर्वराष्ट्रपति कार्टरको आइतबार उनको निवासमै निधन भएको हो ।

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

पोखरा फेवातालमा सम्पन्न दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलको उपाधि चीनले हात पारेको छ । दुई विधामा भएको फेस्टिभलमा नेपाल उपाधिविहीन बन्यो । सोमबार भएको फाइनलमा नेपाललाई हराउँदै चीनले उपाधि जितेको हो ।

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

 

कान्तिपुर

Link copied successfully