दाहालको चुनौती : शेरा दरबारको जग्गा सार्वजनिक भए सरकारका नाममा ल्याऊ

'धेरै पहिले पार्टी छाडेका व्यक्तिसँग माओवादीलाई जोडेर प्रचार गरिनु योजनाबद्ध षड्यन्त्र'

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Dahal's challenge: If the land of Shera Darbar becomes public, bring it in the name of the government

विराटनगर — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टीलाई जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन् । झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीले सुशासनका लागि उठाएको एजेन्डालाई कमजोर बनाउन यस्तो प्रायोजित प्रचार गरिएको बताएका हुन् ।  

अध्यक्ष दाहालले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा माओवादी पार्टी र नेतृत्वलाई जोड्ने प्रयास भइरहेको बताउँदै उनले यस्तो प्रचारलाई अनावश्यक र योजनाबद्ध षड्यन्त्रको संज्ञा दिए । सार्वजनिक सम्पत्तिलाई राज्यको मातहतमा ल्याउन आफू र आफ्नो पार्टीले सधैँ साथ दिने भन्दै उनले थपे,‘ शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउनुपर्छ, त्यसमा हाम्रो पूर्ण साथ रहनेछ ।’ 

अध्यक्ष दाहालले सरकारलाई चुनौती दिँदै भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, शेरादरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याऊ । तर झुटो राजनीति गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहन्छु ।’

पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरिसकेको छ । हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको छ । माओवादी नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको हो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully