कास्की — सहकारी ठगी प्रकरणमा दोषीहरूलाई कारबाही र आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै पोखराका सहकारीपीडितहरूले थाल र चम्चा लिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले पोखरा महानगरपालिका-१७ स्थित मुस्ताङ चोकमा प्रदर्शन गरेका हुन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति/सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा विरोध प्रदर्शन भएको छ । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्नुपर्ने र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।
उक्त सहकारी प्रकरणमा प्रहरीले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसहितलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ ।
लामिछानेलाई रिहाइ गर्न रास्वपाले सडक संघर्ष थालेपछि पीडितहरू पनि सडकमा उत्रिएर कारबाहीको माग गरिरहेका हुन् ।
